वीरगन्ज,२४बैशाख:पर्सामा ग्रामीण भेगका मानवबस्तीमा आगलागीका घटना धेरै भइरहेपनि जिल्लाका वनजङ्गल भने अहिलेसम्म जोगिएको छ । नेपालका अधिकांश जिल्लामा वन डढेलो लागिरहेको बेला पर्सा जिल्लाभित्र रहेका वनक्षेत्र भने सुरक्षित देखिएको हो ।
डिभिजन वन कार्यालय पर्साका डिभिजन वन अधिकृत सुनिलकुमार कर्णले पर्सामा यो गर्मी र सुख्खा याममा ठुलो प्रकृतिको डढेलो नलागेको बताए । “यो सिजनमा पर्सामा डढेलो लागेर वनजङ्गलमा काठ–दाउरामा ठुलो नोक्सानी भएको छैन तर कृषि उपज क्षेत्रमा भने आगलागीको समस्या देखिएको थियो”, उनले भने, “सुरुवाती चरणदेखि वनजङ्गलमा हुन सक्ने डढेलोको विषयमा सतर्कता र सावधानी अपनाउन भनेकाले पनि अहिलेसम्म यहाँको वनमा डढेलाे लागेको छैन ।”
पर्सामा चालु आर्थिक वर्षको करिब १० महिनामा आगलागीले करिब ६ करोड बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार पर्सा जिल्लामा चालु आर्थि बर्षको वैशाख २१ गतेसम्म आगलागीबाट पाँच करोड ७२ लाख बराबरको धनसम्पत्ति नष्ट भएको हो । पर्सामा गत वैशाख ८ गते सीमावर्ती भारतको गहुँ खेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहितको फुसको घर जल्दा १२ लाख ८४ लाख बराबरको क्षति भएको थियो । आगोले त्यहाँका १५ किसानको गहुँ, अन्नबाली, पराल, कुखुरा फर्म र फुसको घरलगायतमा क्षति पुर्याउँदा १२ लाख ८४ हजार बराबरको क्षति भएको छ ।
गत वैशाख ११ गते वीरगन्ज-१७ अलाैंका महेन्द्र सहनीको फुसको घरमा विद्युत्को तार ‘सट’ भएर सुरु भएको आगलागीले सात जनाको फुसका घरसहित अन्नपात, सुनचाँदी र पशुचौपाया जल्दा ५३ लाख ९० हजार बराबरको क्षति भएको थियो । “अन्य जिल्लामा जस्तो पर्सामा वन क्षेत्रमा डढेलो लागेको छैन,” वन अधिकृत कर्णले भने ।
उनले जिल्लाका ६ वटा सबडिभिजन वन कार्यालयले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकाले पनि वनमा आगो लगाउने काम नभएको हुनसक्ने बताए । “विगतमा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरीसिकारी गर्नेले आगो लगाएर चोरीसिकारी गर्ने प्रवृत्ति थियो,” उनले भने, “यसपाली सावधानी अपनाएकाले आगजनीको घटना हुन पाएको छैन तर अझै सावधानी र सतर्कता अपनाउन जरुरी देखिन्छ ।”
यद्यपि पर्साका एकाध वनमा डढेलो सुरु हुन खोजेपनि तुरुन्तै निभाइएकाे उनले बताए । पर्सा जिल्लामा ६ वटा सबडिभिजन वन कार्यालय छन् । पर्साको क्षेत्रफल एक लाख ४० हजार चार सय ३४ हेक्टर छ । जसमध्ये आठ दशमलव २३ प्रतिशत वन क्षेत्रले ओगटेको छ । डिभिजन वन कार्यालय मातहत ११ हजार चार सय ५१ दशमलव २८ हेक्टर वन क्षेत्र पर्दछ । यो तथ्यांकमा निकुञ्ज क्षेत्र भने समावेश गरिएको छैन ।रासस

