काठमाडौं,८भदौंः गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन सुरू गरेका छन् । उखु उत्पादक महासंघ,उखु उत्पादक कृषक समिति लगायतले गत आर्थिक वर्षको उखुको वक्यौता अनुदान रकम प्रति क्वीन्टल ७० का दरले भुक्तानी गर्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।
चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखुको अनुदानका लागि सरकारले आवश्यक बजेट विनियोजन नगरेपछि उखु किसान अघिल्लो आर्थिक वर्षको अनुदान पनि नआउने हो की भन्ने त्रासमा छन् । उनीहरूले गत वर्षकै अनुदानसमेत आधा कटौती गर्न लागेको आंशका गरेका छन् ।
प्रदर्शनमा सहभागीहरूले एकतर्फी मूल्य स्वीकार छैन,उखु कृषक शोषण बन्द गर, उखु अनुदान भुक्तानी गर ,मूल्य निर्धारणमा कृषकलाई सहभागी गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।कृषकहरूले सरकारले अनुदान रकम कटौती गरे अब उखु खेती गर्ने अवस्था नआउने जनाएका छन् ।साभारःअन्नपूर्णपोष्ट