वीरगन्ज,२४चैतःवीरगन्ज महानगरपालिकाले नगरका विभिन्न स्थानका सडक तथा खाली जग्गामा अनाधिकृत रुपमा लगाइएका पसल तथा बजारहरु तत्काल बन्द गर्न निर्देशन दिएको छ ।
वीरगन्जको नयाँ बसपार्क नजिकको खाली जग्गा, पावर हाउस क्षेत्र, मुर्ली चोक, बुखार चोक, इदगाह चोक, गीता मन्दिर आसपासका स्थानहरूमा अनधिकृत रूपमा लगाइएका बजार (तरकारी, फलफुल लगायतका पसल) तत्काल बन्द गर्न महानगरपालिकाले निर्देशन दिएको हो ।
मंगलबार, महानगरपालिकाले एक सूचना जारी गर्दै ती स्थानमा लाग्दै आएका अनाधिकृत बजार तथा पसलहरु तत्काल नहटाइए वा बन्द नगरिए प्रचलित कानून बमोजिम कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
यस्तो महानगरपालिकाको सूचना :

वीरगंज महानगरपालिकाद्वारा नगर क्षेत्रभित्र बजार व्यवस्थापनलाई व्यवस्थित, सुरक्षित तथा प्रभावकारी बनाउन विभिन्न स्थानमा आवश्यक पूर्वाधारसहित बजार स्थापना गरिएको व्यहोरा सर्वसाधारण तथा सम्बन्धित व्यवसायीहरूमा अवगत नै छ । महानगरपालिकाले माइस्थान नजिक मिना बजार कम्प्लेक्स तथा छपकैयाँ (रेल्वे रोड) क्षेत्रमा तरकारी तथा फलफूल थोक बजार सञ्चालनमा ल्याइसकेको छ। साथै घण्टाघर नजिक वि.पी. उद्यान क्षेत्रमा जथाभावी रुपमा लाग्दै आएको बजारलाई व्यवस्थित गर्ने उद्देश्यले उक्त बजारलाई छपकैयाँस्थित तोकिएको स्थानमा स्थानान्तरण गर्ने प्रयास गरिएको थियो ।
तर केही व्यवसायीहरूले तोकिएको स्थानमा नगई नयाँ बसपार्क नजिकको खाली जग्गा, पावरहाउस क्षेत्र, मुर्ली चोक, बुखार चोक, इदगाहा चोक तथा गीता मन्दिर आसपासका स्थानहरूमा अनधिकृत रूपमा बजार सञ्चालन गरिरहेको पाइएको छ ।महानगरपालिकाबाट पटक–पटक सूचना जारी गरिँदा पनि अटेर भइरहेको अवस्था छ। यसैबीच मधेस प्रदेश सरकार, गृह, सञ्चार तथा कानुन मन्त्रालयबाट मिति २०८२ चैत २२ गते जारी परिपत्रअनुसार बजारलाई जथाभावी रूपमा सञ्चालन गर्न नदिई तोकिएको स्थानमा मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ ।
अतः सम्पूर्ण व्यवसायीहरूलाई महानगरपालिकाले तोकेको स्थान बाहेक अन्य कुनै पनि स्थानमा बजार सञ्चालन नगर्न तथा हाल जथाभावी रूपमा सञ्चालन भइरहेका बजारहरू तत्काल बन्द गरी तोकिएको स्थानमा तत्काल स्थानान्तरण गर्न अनुरोध छ । यस व्यवस्थाको अवज्ञा गरेमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

