Madhes Khabar
स्थानिय

महामारीमा संयमित भई सेवा प्रवाह गर्न वीरगन्ज महानगरका मेयर सिंहको निर्देशन

वीरगन्ज,८भदौंःवीरगन्जमा हैजाको प्रकोप फैलिइरहेका बेला महानगरपालिकाका मेयरराजेशमान सिंहले महानगरका सम्पूर्ण कर्मचारीलाई सतर्कतापूर्वक र संयमित भएर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । मेयर सिंहले अहिलेको अवस्था आत्तिने नभई संयम र धैर्यका साथ सामूहिक प्रयासद्वारा नियन्त्रण गर्न सकिने भन्दै सबै पक्षलाई हातेमालो गर्न आग्रहपनि गरेका छन् ।

मेयर सिंहले भने, “अहिलेसम्म डराई हाल्नुपर्ने अवस्था सिर्जना भएको छैन। महानगर हैजा नियन्त्रण उन्मुखमै छ र हामीले आवश्यक सबै उपायहरू अपनाइरहेका छौं।” उनले बिरामी भेटिनेबित्तिकै उपचारमा ढिलाइ हुन नदिने उद्देश्यले वीरगन्जभित्रका सबै अस्पताललाई तत्कालै आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिइसकेको बताए।

यसै क्रममा महानगरले हैजाबाट प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरूको विशेष टोली परिचालन गरिसकेको छ। ती टोलीले प्रभावित वडाका घरघरमा पुगेर अवस्थाको प्रत्यक्ष जानकारी लिने, संभावित संक्रमितहरूको पहिचान गर्ने, आवश्यक परामर्श दिने र सरसफाइ सम्बन्धी सचेतना फैलाउने कार्यलाई तीव्रता दिएका छन्।

महानगरका मेयर सिंहले सबै कर्मचारीलाई आफ्नो कार्यक्षेत्रमा सचेतनामूलक सन्देश फैलाउन, नागरिकलाई स्वच्छ पानी मात्र पिउन आग्रह गर्न, तरकारी तथा खाद्यपदार्थलाई राम्रोसँग धोएर पकाउन सुझाउन र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आह्वान गरे।

यसैगरी, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले पनि हैजा नियन्त्रणलाई प्राथमिकता दिँदै प्रशासनिक संयन्त्रलाई सक्रिय बनाउन निर्देशन दिएका छन् ।उनले सबै कर्मचारीले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिँदै महामारी नियन्त्रणमा समन्वय, सूचना आदानप्रदान र तत्कालीन उपचार व्यवस्थामा कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

महानगरले हैजा नियन्त्रणका लागि हेल्प डेस्क स्थापना गर्ने, जोखिमयुक्त क्षेत्रमा नियमित अनुगमन गर्ने, पानीको नमूना परीक्षण गर्ने र सरसफाइ कार्यक्रमलाई अझ प्रभावकारी बनाउन कदम चालेको जनाएको छ।

Related posts

वीरगन्ज नाकाबाट ३ जना महिलाको उद्धार, भारतमा बेच्ने लैजाने युवती पक्राउ

MadhesKhabar

रेडक्रस आदर्शनगर उपशाखाको सभापति पुन सन्तोष गुप्ता चयन

MadhesKhabar

पर्साका ३ वटा पालिकाले कानुनको धज्जी उडाए :बजेट,नीति तथा कार्यक्रम निर्धारित समयमा ल्याएनन्

MadhesKhabar

Leave a Comment