Madhes Khabar
स्थानिय हेडलाइन

पर्साका ३ वटा पालिकाले कानुनको धज्जी उडाए :बजेट,नीति तथा कार्यक्रम निर्धारित समयमा ल्याएनन्

वीरगन्ज,११असारःपर्सा जिल्लाका १४ मध्ये ३ वटा पालिका (स्थानीय तह)ले निर्धारित समयमा बजेट र नीति तथा कार्यक्रम ल्याउन सकेका छैन् ।

हरेक पालिकाले असार १० गतेभित्रै आगामी आर्थिक वर्षका लागि बजेट र नीति तथा कार्यक्रम ल्याइसक्नुपर्ने कानूनी प्रावधान छ । तर पर्साका १४ मध्ये तीन वटा पालिकाले भने कानूनको धज्जी उडाउँदै निर्धारित समयमा बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेका छैनन् ।

निर्धारित समयमा बजेट र नीति तथा कार्यक्रम ल्याउन नसक्ने पर्साका पालिकाहरुमा छिपहरमाई गाँउपालिका, बिन्दवासिनी गाँउपालिका र धोबिनी गाँउपालिका रहेका छन् ।

वीरगन्ज महानगरपालिका, पोखरिया, बहुदरमाई र पर्सागढी नगरपालिका तथा कालीकामाई, पकहामैनपुर, सखुवा प्रसौनी, पटेर्वा सुगौली,जिराभवानी,जगरनाथपुर र ठोरी गाँउपालिका गरी ११ पालिकाले भने निर्धारित समय (असार१० गते) भित्रै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् ।

छिपहरमाई गाँउपालिका, बिन्दवासिनी गाँउपालिका र धोबिनी गाँउपालिकाले भने प्रमुख र उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण निर्धारित समयमा बजेट र नीति तथा कार्यक्रम ल्याउन नसकेका हुन् ।

यसैगरि मधेस प्रदेशमा भने १ सय ३६ वटा पालिकामध्ये ३३ स्थानीय तहले पनि बजेट र नीति तथा कार्यक्रम निर्धारित समयमा ल्याउन सकेका छैनन्। सबैभन्दा बढी सप्तरीका १३ स्थानीय तहले बजेट ल्याएका छैनन्।

धनुषाको १८ स्थानीय तहमध्ये ६ वटा स्थानीय तह, महोत्तरीका १५ वटा स्थानीय तहमध्ये एउटा स्थानीय तह , सिरहाका १७ स्थानीय तहमध्ये एउटा स्थानीय तह , बाराको १६ वटा स्थानीय तहमध्ये ३ वटा स्थानीय तहलेपनि निर्धारित समयमा बजेट र नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका, सुवर्ण गाउँपालिका र निजगढ नगरपालिकाले पालिका प्रमुख–उपप्रमुखबीचको विवादका कारण बजेट र नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन्।

यस्तै, सप्तरीका १३ स्थानीय तह र सप्तरीका ४ स्थानपालिकाले अझै नगर–गाउँ सभाका लागि प्रक्रिया नै थालेका छैनन्। सप्तरीका ९ वटा स्थानीय तहले नीति तथा कार्यक्रम प्रस्तुत गरेर पनि बजेट ल्याउन सकेका छैनन्।

रौतहटको १८ स्थानीय तहमध्ये ५ वटा पालिकाले बजेट र नीति तथा कार्यक्रम ल्याएका छैनन्। देवाही गोनाही, बृन्दावन, फतुवा विजयपुर नगरपालिका तथा यमुनामाई र दुर्गा भगवती गाउँपालिकाले बजेट र नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन्।सर्लाहीको २० वटा पालिकामध्ये एउटा पालिकाले भने बजेट विनियोजन गर्न सकेको छैन ।

 

 

Related posts

नारायणी अस्पतालको अनुगमन गर्दै स्वास्थ्यमन्त्री यादवले भने : नारायणी अस्पताल सुधारेरै छाड्छु

MadhesKhabar

पोखरियामा पनि मनाइयो बलिदानी दिवस

MadhesKhabar

पर्सामा कांग्रेसले पटक पटक चुनाव लडेकाहरुलाई नै फेरि बनायाे उम्मेदवार

MadhesKhabar

Leave a Comment