Madhes Khabar
शिक्षा हेडलाइन

सदरमुकाम कलैयामै डोम समुदायका बालबालिकाहरु विद्यालय शिक्षाबाट बञ्चित

तस्बिर : कान्तिपुर

बारा,१०असोजः बाराको कलैया उपमहानगरपालिका–४ अदालत सडकछेउमै डोम समुदायको सानो बस्ती छ । २५ परिवारको त्यही बस्तीकी बालिका हुन्– १७ वर्षीया किरण मली डोम । उनी निरक्षर छिन् । विद्यालयसम्म पुग्नै नपाएकी उनले घरमा बुवाआमाको पुख्र्यौली पेसालाई सघाउँदै चुलोचौको सम्हाल्दै बसेको बताइन् ।

किरणकै समकालीन साथीहरू १५ वर्षीया माधुरी, १८ वर्षीया चन्दनसमेत विद्यालय पुग्न पाएका छैनन् ।डोम बस्तीमा यतिको उमेरका किरण, माधुरी, चन्दन मात्रै होइन, ८ देखि १० जना किशोरकिशोरीले विद्यालयको मुखै देख्न नपाएको किरणले सुनाइन् । ‘पढ्ने इच्छा भए पनि सामाजिक र शैक्षिक वातावरण भएन । अब त ठूला भयौं, विद्यालय जानै लाज लाग्छ,’ उनले भनिन्, ‘बस्तीका स–साना अन्य भाइबहिनी पनि विद्यालय जान पाएका छैनन् ।’

उक्त बस्तीको पश्चिम–पूर्वमा रामपुरखेस्राहा र पश्चिम कलैया गाउँमा विद्यालय छन् । यस बस्तीबाट विद्यालय आधा किमिको दूरीमा रहेका छन् । तर, बस्तीका किशोरकिशोरी त के ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकासमेत विद्यालय जाँदैनन् ।

६० वर्षीय शम्भु मली डोमका अनुसार यस बस्तीका पढ्ने उमेरका स–साना बालबालिकादेखि किशोरकिशोरीसमेत गरी ५० जनाको हाराहारीमा विद्यालय पुगेका छैनन् । ‘यस बस्तीका धेरैले ५ कक्षासम्म पनि पढेका छैनन् । धेरैलाई त आफ्नो नाम र ठेगाना लेख्न समेत धौ धौ हुन्छ,’ उनले भने । विद्यालयमा छुवाछूतजस्तो जातीय विभेद पनि रहेको र त्यस कारण पनि कतिपय बालबालिका विद्यालय नगएको उनले सुनाए । ‘बस्तीमा साक्षरताका लागि विद्यालय भर्ना अभियान लिएर पनि कोही आउँदैनन्,’ उनले भने, ‘स्थानीय तहका निर्वाचित जनप्रतिनिधि पनि चुनावपछि फर्केर बस्तीमा आएका छैनन् ।’

बस्ती नजिकैको नमुना विद्यालययमा लामो समयदेखि प्रधानाध्यापक रही एक साताअघि यहाँबाट सरुवा भएका शिक्षक सुकदेव साहले डोम बस्तीका बालबालिकाको विद्यालयमा नामांकन भए पनि पढ्न नआउने गरेको स्वीकारे । बस्तीसम्म सहज आउजाउ गर्न सडक सुविधा पनि छैन । व्यक्तिगत जमिनलाई बाटोका रूपमा प्रयोग गर्दै बस्तीसम्म आउजाउ गर्नुपर्ने उनले बताए ।

कलैया उपमहानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख प्रल्हाद वर्णवालले बस्तीमा भर्ना अभियान चलाएको दाबी गरे । तर विद्यालयसम्म बालबालिकालाई पु¥याउने जिम्मेवारी अभिभावक, वडाध्यक्षलगायत जनप्रतिनिधिको भएको उनले सुनाए । ‘विद्यालयसम्म पु¥याउन वातावरण बनाउने जिम्मेवारी त्यस वडाका वडाध्यक्ष र प्रअको हो,’ उनले भने, ‘अभिभावक वर्गमा चेतनाको अभाव र बालबालिकाको रुचिमा कमी भएकाले उनीहरू विद्यालयसम्म पुग्न नसकेका हुन् ।’

बस्ती रहेको वडा नम्बर ४ का वडाध्यक्ष रामेश्वर यादवले विद्यालय नगएको गुनासो आफूकहाँ नआएको बताउँछन् । ‘मेरो वडामा सामुदायिक विद्यालय छैनन्,’ उनले भने, ‘बालबालिका निजीमा पढ्न चाहे वा अभिभावकले पढाउन चाहेमा पहल गर्नेछु ।’ लक्ष्मी साह/कान्तिपुर

 

Related posts

पर्सा २ मा काँग्रेसका चौरसियाको सान्दार जित

MadhesKhabar

दिपावलीका लागि अहिलेदेखि नै मधेसका नाकाबाट पटकाको तस्करी सुरु

MadhesKhabar

वीरगन्जमा सञ्चारकर्मीमाथि आक्रमण गर्ने शिक्षक–शिक्षिकालाई कारबाही गर्न पत्रकार महासंघको माग

MadhesKhabar

Leave a Comment