वीरगन्ज,११भदाैं:पर्साको सखुवा प्रसौनी गाउँपालिकाले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
गाउँपालिका अध्यक्ष जसवन्त यादवले रसुवामा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित बाढीपीडितका लागि गाउँपालिकाको तर्फबाट उक्त रकम सहयोग गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।
विपत्तिको यस घडीमा एक–अर्कालाई सहयोग गर्नु मानवीय कर्तव्य भएको बताउँदै अध्यक्ष यादवले प्राकृतिक विपद्का कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
बाढीपहिरोबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनर्स्थापनामा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले गाउँपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको अध्यक्ष यादवले बताए ।

