वीरगन्ज,७ भदौं : वीरगन्ज महानगरमा हैजा (कोलेरा) को महामारी समुदायस्तरमै फैलिएको छ ।शुक्रबार सुरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली टोलका ३ जनामा हैजाको संक्रमण पुष्टि भएकोमा शनिबार साँझसम्म उक्त संख्या अर्थात हैजा पुष्टि हुने बिरामीको संख्या ३६ पुगेको छ ।
स्वास्थ्य कार्यालय पर्साका जनस्वासथ्य अधिकृत जयमोद ठाकुरले वीरगन्जमा हैजाको महामारी समुदायस्तरमै फैलिएको बताए।शनिबार साँझसम्म वीरगन्ज महानगरको वडा नम्बर ३, ११, १२, १३ र ३० मा गरी ३६ जनामा हैैजाको संक्रमण पुष्टि भइसकेको छ ।
सबै भन्दा बढी वीरगन्जको नारायणी अस्पतालमा १३ जना,तराई हस्पिटलमा १२ जना, नेशनल मेडिकल कलेजमा ५ जना ,अलि अर्थो सेन्टरमा ४ जना र भवानी हस्पिटलमा २ जना हैजाका बिरामी उपचाररत रहेको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख सुमनचन्द्र ठाकुरले जानकारी दिए ।
वीरगन्जका विभिन्न अस्पतालमा गरी झाडापखाला र हैजाका शंकास्पद गरी हाल २०० भन्दा बढी बिरामी उपचाररत छन् । झाडापखालाका सिकिस्त र हैजाका शंकास्पद बिरामीहरु थपिने क्रम जारी रहेको उनले बताए ।
नारायणी अस्पतालामा झाडापखाला र हैजाका शंकास्पद बिरामी थपिन थालेपछि शैयाको अभावमा बिरामीलाई बरण्डाको भूइँमै राखेर उपचार गर्नुपर्ने बाध्यता भएको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले बताए ।उनका अनुसार, नारायणी अस्पतालमा शनिबार साँझसम्म १३ जना बिरामीमा हैजाको पुष्टि भएको छ ।अस्पतालमा हाल झाडापखाला र हैजा पुष्टि भइसकेका गरी ३० जना बढढीको उपचार चलिरहेको र बिरामीको संख्या थपिने क्रम अअझै जारी रहेको उनले बताए ।
उनका अनुसार, वीरगन्जमै हैजाका शंकास्पद दुई जना बिरामीको मृत्युपनि भइसकेको छ ।शुक्रबार नारायणी अस्पतालमा ३५ वर्षीय एक पुरुष र वीरगन्ज हेल्थकेयर हस्पिटलमा १९ वर्षीय एक युवतीको मृत्यु भएको हो ।डा. सिंहले भने,‘ झाडापखालाबाट सिकिस्त भएपछि ती दुवै बिरामीलाई अस्पताल ल्याइएको थियो । तर अस्पतालमा ल्याइपुर्याउँदा दुवैको मृत्यु भइसकेको थियो । तर उनिहरुको मृत्यु झाडापखाला वा हैजाका कुन कारणले हो भनेर पुष्टि भएको छैन ।’
हैजा रोकथाम र नियन्त्रणका लागि के के हुदैछ ?
शुक्रबार वीरगन्ज–१२ को मूर्लीका तीन जनामा देखिएको हैजाको संक्रमण एकदिन पनि बित्न नपाउँदै महानगरका अन्य वडाहरुमा पनि देखिन थालेपछि त्यसको रोकथाम र नियन्त्रणमा तीनै तहका सरकार जुटेका छन् ।वीरगन्ज महानगरपालिका, स्वास्थ्य कार्यालय पर्सा,मधेस प्रदेश सरकार र संघीय सरकारको खानेपानी मन्त्रालयले आ–आफनो तहबाट लागेका छन् ।
हैजाको महामारी समुदायस्तरमै फैलन थालेपछि वीरगन्ज महानगरका सम्पूर्ण विद्यालयहरु दुई दिनका लागि बन्द गरिएको छ ।वीरगन्ज महानगरपालिकाले भदौं ८ र ९ गते दुई दिनका लागि सम्पूर्ण विद्यालयहरु बन्द गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले जानकारी दिए।
यस्तै उनका अनुसार,महानगर क्षेत्रभित्र हालका लागि पानीपुरी, चाट, चटपटे (भाजा) आदिको बिक्री वितरणमा पनि रोक लगाइएको छ ।खुल्ला रुपमा बिक्री वितरण हुदैं आएका यस्ता खाद्यपदार्थमा प्रयोग हुने पानी दूषित भई हैजाका जीवाणु मिसिने सम्भावना भएकाले ती खाद्यपदार्थ बिक्रीवितरणमा रोक लगाइएको कर्णले जानकारी दिए ।
शनिबार बिहानै वीरगन्ज महानगरपालिकामा मेयर राजेशमान सिंहले वीरगन्जका सबै अस्पतालहरुका प्रतिनिधीहरुसंग आकस्मिक बैठक गरे। हैजाको रोकथाम र नियन्त्रणका लागि स्थानीय स्तरमा सचेतना फैलाउन र तत्काल रेस्पोन्स गर्नका लागि महानगरका प्रभावित क्षत्रेहरुमा स्वास्थ्यकर्मीहरुको २५ वटा टोली परिचालन गरिसकिएको मेयर सिंहले उक्त बैठकमा जानकारी गराए। यसका साथै हेल्प डेस्क र सुचना केन्द्र स्थापना पनि गरिएको उनले जानकारी गराए ।
बैठकमा मेयर ससंहले झाडापखाला वा हैजाका बिरामीको उपचारमा गम्भीरताका साथ लाग्न अस्पतालहरुलाई निर्देशन दिए । उनले भने,‘कोहिपनि बिरामी बेड नपाएर उपचारबाट बञ्चित भएको मैले सुन्न नपरोस् । यो संकटको घडीमा अस्पताल र डाक्टरहरु गम्भीर भइदिनु होला ।मावनतापनि देखाइ दिनु होला ।’
त्यसअघि मेयर सिंहले महानगरपालिकाका ३२ वटै वडाका स्वास्थ्यकर्मीहरुलाई बोलाएर हैजाको रोकथाम तथा नियन्त्रणका लागि संक्रमित क्षेत्रमा प्राथमिकताका आधारमा खटिन निर्देशन दिए । हैजाको बढी जोखिमयुक्त क्षेत्रका घर–घरमै पुगेर सचेतना फैलाउने, सरसफाइमा जोड दिने र उपचारमा ल्याउने कार्यमा जुट्न स्वास्थ्यकर्मीहरुलाई उनले निर्देशन दिए । यसबाहेक महानगरका मेयरकै आग्रहमा वीरगन्ज नर्सिङ क्याम्पसमा अध्ययनरत छात्राहरुलाई पनि शनिबार अपरान्हदेखि जोखिमयुक्त वडाहरुमा सचेतना फैलाउनका लागि खटाइएको मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी गराए ।
झाडापखाला र हैजाको संक्रमण नियन्त्रणका लागि महानगरपालिकाले आफ्ना सम्पूर्ण श्रोतसाधन र जनशक्ति परिचालन गरिसकेको मेयर सिंहले बताए । उनले भने,‘बिरामीको उपचारमा कहिकतै लापरवाही र कमी हुन दिन्नौं । संगै समुदायस्तरमा जनचेतना फैलाउने काम सुरु भइसकेको छ ।’
यस्तै खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा वीरगन्जमा खानेपानी परिक्षणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभाग काठमाडौंबाट वीरगन्जमा खटिएको छ । आवश्यक सामग्री सहितको मोबाईल भ्यान टोलीनै खटिएको र टोलीले वीरगन्जमा पुगेर पानी परिक्षणको काम सुरु गरिसकेको विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा वीरगन्जमा हैजाको रोकथाम तथा नियन्त्रणका लागि प्रदेशको स्वास्थ्य मन्त्रालयबाटपनि डा. विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरसहितको टोली वीरगन्जमा आइपुगेको छ ।
वीरगन्जमा हैजाको महामारी फैलनुको कारण ?
वीरगन्जमा हैजाको संक्रमण देखिनु र फैलिनुको कारण भने अहिलेसम्म यकिन भइनसकेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत ठाकुरले बताए । दुषित पानी वा खानाको माध्यमले मानिसमा भिब्रियो कोलरी नाम जीवाणु प्रवेश गरेपछि हैजा रोग्ने लाग्ने गर्छ । तर वीरगन्जमा कुन कारणले हैजाको महामारी फैलिएको भन्ने बारेमा अहिलेसम्म यकिन भइनसकेको उनले बताए । संक्रमित भेटिएका टोलका घरका धाराहरुको पानीको नमूना संकलन गरेर शुक्रबार राति नै परीक्षणका लागि काठमाडौंको प्रयोगशालामा पठाइएको जानकारी दिदैं उनले त्यसको रिपोर्ट आउन एक हप्ता लाग्नसक्ने बताए ।
उनले भने,‘ अहिले सोसल मिडियाहरुमा डीप बोरिङको पानीबाट हैजा फैलिएको भन्ने हल्ला छ । तर त्यो अफवाह मात्रै हो । परीक्षणका लागि पठाइएको पानीको नमूनाको रिपोर्ट नआएसम्म यकिन कारण भन्न सकिदैन । ’
वीरगन्जमा चापाकलहरु सुकेर खानेपानीको संकट भएपछि खानेपानी मन्त्रालय र वीरगन्ज महानगरपालिकाले महानगरका विभिन्न वडाहरुमा डीप बोरिङ जडान गरेर विगत ३ महिनादेखि घरघरमा पानीको आपुर्ति गर्दै आइरहेका छन् । ती डीप बोरिङमा जडान गरि बिछ्याइएका पाइपहरु अधिकांश ठाँउमा नालाभित्रै पर्ने गरि राखिएका छन् ।
ती पाइप लिक भएर नालाकै प्रदुषित र फोहोरपानी घरघरमा आपुर्ति भइरहेका कारण अहिले हैजाको महामारी फैलिलएको हुन सक्ने आशंका कतिपयको छ ।
तर वीरगन्ज महानगरपालिकाका मेयर सिंहले पनि शुक्रबार सुरुमा हैजा पुष्टि भएका मुर्लीका ३ जनाको घरमा पुगेर स्वास्थ्यकर्मी र प्राविधिकले सोधिखोजी गर्दा ती तीनै जना बिरामीको घरमा डीप बोरिङको पानी सेवन नगरेको पाइएको बताए । उनले भने,‘ डीप बोरिङको पानीबाट हैजा फैलियो भनेर केहिले भ्रम छरिरहेका छन् । जुन सरासर गलत हो । ’ उनले काठमाडौंको प्रयोगशालामा परीक्षणका लागि पठाइएको पानीको ल्याब रिपोर्ट नआएसम्म यकिन कारण भन्ने नमिल्ने बताए ।

