वीरगन्ज,३०साउनःपर्साको ठोरी गाँउपालिकामा भुमिहीन र अव्यवस्थित बसोबासीसंग भूमी समस्या समाधान आयोगले अन्तरक्रिया गरेको छ । ठोरी गाउँपालिकाको आयोजनामा गाउँपालिका कार्यालयको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा जग्गाको नापजाँचको क्रममा उठेका विभिन्न सवालहरुमा छलफल गरिएको छ ।
कार्यक्रममा आयोगका अध्यक्ष तबरेज अहमदले आयोगले व्यक्तिलाई मात्र लाल पुर्जा दिने तर हाललाई क्लब , मन्दिर , गुम्बा जस्ता गैर व्यक्तिहरुलाई लाल पुर्जा नदिइने प्रष्ट पारे । तर त्यस्ता सार्वजनिक जग्गाको फिल्डबुकमा लगत भने राखिने उनले बताए ।
फिल्डमा भएको जग्गाको आधारमा लालपुर्जामा जग्गा कायम गरिने बताउँदै अध्यक्ष अहमदले निस्सामा लेखिएको नै अन्तिम नहुने भएकोले संशोधन हुने बताए।हुलाकी सडक वरपरका जग्गामा हुलाकी सडकको मापदण्ड अनुरुप जग्गा कटाएर बाँकी जग्गाको मात्र धनीपुर्जा कायम गरिने पनि उनले स्पष्ट पारे ।
राजस्वको सवालमा भने १७ सय वर्गमिटरसम्म क्षेत्रफलको कृषि जग्गामा जग्गाको मुल्यांकनको आधारमा ५ प्रतिशत राजस्व र बसोबासी जग्गामा भने १० प्रतिशत राजस्व तिर्नुपर्ने अध्यक्ष अहमदले जानकारी गराए।तर जग्गाको मुल्यांकनको बारेमा अनेक हल्ला फैलाइएको भन्दै उनले जग्गाको मुल्यांकन सम्बन्धी सुचना भूमि आयोग पर्साले निकाल्ने प्रष्ट पारे।निस्सा प्राप्त गरेर बिक्रि भएका कारण किन्ने जग्गावालाको हातमा निस्सा कायम नभएको , छुटफुट भएर निस्सा प्राप्त नगरेका जग्गावाला , अंशबण्डा हुन बाँकी जग्गावालाहरुले निस्सा प्राप्त गर्ने नयाँ प्रक्रिया थाल्न पनि अध्यक्ष अहमदले आग्रह गरे ।
कार्यक्रममा ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले अघिल्लो स्थानीय सरकारले गरेको अधुरो कामको जिम्मेवारी आफ्नो काँधमा आएको बताए । रुख कटानदेखि २०५६ सालको गोश्वारा नापी गर्दा समेत आफु प्रत्यक्ष सहभागी भएको बताउँदै अध्यक्ष श्रेष्ठले संयोगले आफ्नो लागि नै लालपुर्जा वितरण गर्ने अवसर जुरेको बताए ।उनले लालपुर्जा वितरणमा राजनीतिक आग्रह पुर्वाग्रह नराख्न सबैसंग आग्रह गरे । जतिसुकै बाधा र अप्ठ्यारो आएपनि जनताको साथ रहे यो पटक जसरी पनि लालपुर्जा वितरण गरेरै छाड्ने अध्यक्ष श्रेष्ठले प्रतिबद्धता जनाए ।
कार्यक्रममा ठोरी गाँउपालिकाकीा उपाध्यक्ष गोकुली कुमारी रेग्मी , भूमी आयोगका विज्ञ सदस्य सन्तोष पासवान,ठोरीका ५ ओटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य , भूमि आयोगका प्रतिनिधी,स्थानीयवासी लगायतकाको पनि सहभागिता थियो ।

