Madhes Khabar
स्थानिय हेडलाइन

मन्त्री सिंहासन कलवारकी पत्नीले ठेक्का लिएका ६ वटा सडककाे काम अलपत्र

बाराको पिपरपातिदेखि लङगडाचोक जोड्ने सडकमा निर्माण हुँदै गरेको नाला । तस्बिर : लक्ष्मी साह/कान्तिपुर

बारा,७फाल्गुन:कालोपत्रे गर्ने कार्यको सम्झौता अवधि सकिए पनि सडक बन्न नसक्दा धुलो र गिट्टी, उबडखाबडमाथि सर्वसाधारणले जोखिमपूर्ण यात्रा गर्नु परेको छ । सडक छेउमा निर्माण गरिने नाला ढलान गरी त्यसको माथिबाट ‘स्ल्याब’ हालिएको छैन ।

‘जसले बालबालिका, बृद्धबृद्धा, आँखाबाट कमजोर देख्न सक्नेलाई समस्या भएको छ,’ बाराकाे सिम्रौनगढ नगरपालिका–८ का पन्नालाल यादवले भने, ‘कतैकतै ‘कल्भर्ट’ निर्माण गर्ने ठाउँमा पुराना ‘कल्भर्ट’ भत्काएर त्यतिकै लथालिङ छाडिएको छ । काम समपन्न नहुँदा वर्षातमा हिड्न निकै कठिनाइ झेल्नुपर्यो ।’

निर्माण व्यवसायीसित पर्याप्त जनशक्ति र साधनस्रोत नभएपछि काममा ढिलासुस्ती भइरहेको योजनाको ‘साइड’ मा खटिएका पूर्वाधार कार्यालयका एक प्राविधिकले बताए । उनले भने, ‘एउटै निर्माण कम्पनीले ६/६ वटा ठेक्का लिएपछि सबै ‘साइड’ मा एकैपटक कसरी काम गर्न सक्छ ? उससित साधन थोरै छ ।’ एक/दुइटा साधनले सबैतिर काम गर्नुपर्ने बाध्यताले काम चाँडो हुन नसकेको उनले बताए । ‘एकातिर काम गर्दा अर्कोतिर छुट्छ, त्यसैले यो अवस्था छ,’ ती प्राविधिकले भने ।

२०७९ असारमा २०८० पुस १५ भित्र काम सक्ने गरी प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडक गर्न पहिलो चरणको सम्झौता भएको थियो । यो अवधिमा काम नसकिएपछि दोस्रोपटक म्याद थप्ने प्रक्रिया सुरु भएको पूर्वाधार कार्यालयका सूचना अधिकारी ईन्जिनियर राजेश चौधरीले बताए ।

‘काम सम्पन्न नभएपछि फेरि म्याद थप्ने प्रक्रिया सुरु गरिएको छ,’ उनले भने, ‘डेढ वर्षमा सबै सडकको कार्य प्रगति औसतमा ६२ देखि ७५ प्रतिशत भएको छ ।’ उनकाअनुसार ‘सबबेस’, ‘स्ट्रक्चर’ र कतैकतै बेसको काम सकिएर रोलिङको काम भइरहेको छ ।

बारा १ (२) मा सिम्रौनगढ नगरपालिकाअन्तर्गतको दशगजाको झरोखरदेखि पूर्व–पश्चिम हुलाकी मार्ग जोड्ने, निर्वाचन क्षेत्र १ कै (१) मा कोल्हवी नगरपालिकाअन्तर्गत प्रगतिनगर–रमपूर्वा हुँदै अमावपथरा सडक, क्षेत्र नम्बर २ को (२) पचरौता नगरपालिकाको दशगजा छेउबाट पिपरपातीदेखि बलधुसवा हुँदै पूर्व–पश्चिम हुलाकी मार्ग लङ्गडा चोकसम्मको सडक, क्षेत्र नम्बर ४ को (१) मा जितपुसिमरा उपहानगरपालिकाअन्तर्गत नगौलदेखि मुसहरनीमाई सडक अलपत्र परेका हुन् ।

यसैगरी निर्वाचन क्षेत्र नम्बर ४ को (२) भलुहीचोकदेखि गण्डक नहर हुँदै बरैनियासम्म, क्षेत्र नम्बर ३ को (२) खपरतातादेखि कुकुरभुका हुँदै जोतपुर गम्हरीयासम्म, क्षेत्र नम्बर ४ को (१) जीतपुरसिमरा १८ ओमशंकर चोकदेखि मनहर्वा माविसम्म, क्षेत्र नम्बर २ को (१) करैयामाई गाउँपालिका र महागढीमाई नगरपालिकासित जोडिएको नरही चोकदेखि पूर्व–पश्चिम हुलाकी मार्गको अर्नवा चोकसम्म जोड्ने सडकपनि अलपत्र परेको छ ।

जितपुर–नगौल, नरही चोक–अनर्वा चोकसम्मका सडक योजनाबाहेक अरु ६ वटा सडकको ठेक्का मधेस प्रदेश सरकारका उर्जामन्त्री तथा जसपाका प्रदेश कार्यसमिति सदस्य सिंहासन साह कलवारकी पत्नी आशादेवी कलवारकी नाममा रहेको रञ्जन निर्माण सेवा, वीरगन्ज १३ ले पाएको थियो ।

सिंहासन साह कलवार प्रदेश सांसद भएपछि पत्नीको नाममा कम्पनी सारेका थिए । ‘आफ्ना ६ वटा सडकको कार्य वैशाखभित्रमा सम्पन्न हुन्छ । अधिकांश काम भइसकेको छ,’ मन्त्री सिंहासनले भने, ‘कम्पनी पत्नीको नाममा भए पनि निर्माणको जिम्मा भाईलाई सुम्पेको छु ।’ प्रत्येक सडकको ठेक्का रकम साढे ६ करोडदेखि साढे ८ करोडसम्मको छ ।

जिल्ल्लाका लागि यो आठवटै सडक कालोपत्रे भइसकेपछि प्रत्येक पालिकाको ‘कनेक्सन’ जोडिन्छ । तर प्रदेश सरकारको बजेट अभावसँगै निर्माण व्यवसायीको ढिलासुस्तीले निर्माणले गति लिन नसकेको करैयामाई ८ इटहरका रामविलाश साहले सोनारले बताए । ‘सडक लथालिङ गरेर छाडिएको छ, नरही–अर्नवा चोक सडकमा दुर्घटनाको साह्रै डर छ,’ उनले भने, ‘डोजरले पुरानो कल्भर्ट उखेलेर यत्रतत्र छाडिएको छ । गिट्टी त्यतिकै छाडेपछि बाइक चिप्लिने सधैं डर हुन्छ ।’साभार:ईकान्तिपुर

Related posts

बल्ल खुल्याे मधेस सरकारकाे आँखा : वीरगन्जमा पानीकाे संकट समाधानका लागि स्रोतसाधन परिचालन गर्ने निर्णय

MadhesKhabar

पर्साकाे बलुवा गाँउमा आगलागीबाट तीन घर जलेर नष्ट

MadhesKhabar

वीरगन्जको धार्मिक पर्यटन प्रबर्द्धनमा सहयाेग गरिदिन अर्थमन्त्री महतसंग मेयर सिंहकाे आग्रह 

MadhesKhabar

Leave a Comment