काठमाडौंं,३०साउनःमधेसमा विद्यमान खानेपानी संकटको दीर्घकालीन समाधानका विषयमा खानेपानीमन्त्री प्रदीप यादव र भारतबाट आएका विज्ञ टोलीहरूबीच छलफल भएको छ ।
भारत सरकारले पठाएका विज्ञहरुको टोलीले वीरगन्ज,जनकपुरसहितका शहरको स्थलगत निरीक्षण गरेर मधेसमा विद्यमान खानेपानीको संकटका बारेमा जानकारी लिएका थिए । मधेसको स्थलगत निरीक्षण गरेर काठमाडौं पुगेको भारतीय विज्ञहरुको टोलीसंग खानेपानी मन्त्री यादवले शुक्रबार मन्त्रालयमै छलफल गरेका हुन् ।
छलफलका क्रममा भारतीय टोलीले हाल मधेसमा देखिएको खानेपानी समस्याको अवस्था तथा यसको तत्कालीन र दीर्घकालीन समाधानका लागि तयार पारिरहेको प्रतिवेदनबारे मन्त्री यादवलाई विस्तृत रुपमा जानकारी गराएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले जानकारी दिइन् ।
उनले भनिन्,‘ भारत सरकारले पठाएको टोली साउन २७ गतेदेखि मधेसका संकटग्रस्त जिल्लाहरूमा पुगेर स्थलगत रुपमा अनुगमन गरी काठमाडौं आएको हो ।टोलीले प्रतिवेदन तयार गरी समस्या समाधानका लागि आवश्यक कार्ययोजना निर्माणपनि गर्नेछ ।’
मन्त्री यादवलले भारतीय विज्ञ टोलीका सदस्यहरुसंग मधेसको खानेपानी संकट र त्यसको स्थायी समाधानका विषयमा गहन र सार्थक छलफल भएको बताए । शुक्रबारको छलफलबाट प्राप्त निष्कर्ष र विज्ञ टोलीको रायको आधारमा नेपाल सरकार तथा खानेपानी मन्त्रालयले आवश्यक कार्य अघि बढाउने मन्त्री यादवले बताए ।
मन्त्री यादवले भने,‘खानेपानीको यस संकटको समयमा प्रदान गरिएको सहयोगका लागि भारत सरकारप्रति पनि विशेष आभार सहित विज्ञ टोलीको यस महत्वपूर्ण प्रयासका लागि हार्दिक धन्यवाद व्यक्त गदछौँ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको क्रममा तराई–मधेसमा दीर्घकालीन खानेपानी समाधानका लागि ठोस योजना र सहमति होस् भन्ने अपेक्षा आँफुहरुको रहेको भनेर आँफुले भारतीय विज्ञ पक्षलाई जानकारी गराएकोपनि मन्त्री यादवले बताए ।
मन्त्री यादवले केही महिनाअघि भारत सरकारको जलशक्ति मन्त्रालयसँग हस्ताक्षर भएको समझदारीपत्र (एमओयु) को प्रतिफल स्वरूप भारत सरकारले अहिले विज्ञ टोली पठाएको बताए ।उनले नेपाल सरकार मधेस प्रदेशका जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले नेपाल–भारत सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन प्रतिबद्ध रहेको जानकारीपनि गराए ।
छलफलका क्रममा भारतीय विज्ञ टोलीका प्रतिनिधि तथा देहरादूनका क्षेत्रीय निर्देशक प्रशान्त राइले तराई–मधेसका संकटग्रस्त जिल्लाहरूमा पुगेर आफुहरुले स्थलगत रुपमा अनुगमन गरी समस्या समाधानका लागि आवश्यक कार्ययोजना सहितको प्रतिवेदन तयार गरीरहेको जानकारी गराए । उनले भने,‘हाम्रो टोली तराई–मधेसका संकटग्रस्त क्षेत्रमा पुगेर फर्किएको छ । खानेपानीको समस्या र समाधानका विषयमा हामी प्रतिवेदन तयार गर्दैछौँ ।’
छलफलमा भारतीय विज्ञ टोलीका तर्फबाट देहरादूनका क्षेत्रीय निर्देशक प्रशान्त राई, जगदम्बा प्रसाद, लखनउ खानेपानी विभाग र सरसफाइ सल्लाहकार आशिष पाण्डे लगायतकाको सहभागीता रहेको थियो ।

