वीरगन्ज,२८साउनःसुक्खा र खडेरीको मारमा परेको मधेस प्रदेशको बारा जिल्लामा भने उत्साहजनक धान रोपाइँ भएको छ । मधेस प्रदेशका ८ जिल्लामध्ये सबै भन्दा बढी बारामा धान रोपाइँ भएको छ ।
मधेस प्रदेशमा समग्रमा ८२ प्रतिशत धान रोपाइँ भएकोमा बारा जिल्लामा सबैभन्दा बढी ९५ प्रतिशत धान रोपाइँ भएको हो । कृषि ज्ञान केन्द्र बाराका अनुसार,बारामा हालसम्म धान रोपाइँ हुने कुल क्षेत्रफल ४६ हजार २० हेक्टरमध्ये ९५ प्रतिशत ४३ हजार ७ सय १९ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको छ ।
त्यसपछि पर्सामा भने हालसम्म ९२ प्रतिशत धान रोपाई भइसकेको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । जिल्लामा रहेको धान खेती योग्य कूल ५७ हजार ११ हेक्टर क्षेत्रफलमध्ये मंगलबारसम्म ५२ हजार ६४१ हेक्टर क्षेत्रफलमा अर्थात ९२ प्रतिशत रोपाइँ भइसकेको केन्द्रका प्रमुख रामजीवन ठाकुरले जानकारी दिए ।
कृषि विकास निर्देशनालयका अनुसार मधेस प्रदेशमा कुल ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमध्ये ८२ प्रतिशतमात्र अर्थात २ लाख ८५ हजार २ सय ३४ हेक्टरमा मात्र रोपाइँ भएको छ।
कृषि विकास निर्देशनालयका वरिष्ठ वागवानी विकास अधिकृत प्रदीप यादवका अनुसार सिरहाको धान रोपाइँ हुने कुल क्षेत्रफल ५४ हजार हेक्टरमध्ये ३७ हजार ८ सय हेक्टरमा जम्मा ७० प्रतिशत रोपाइँ भएको छ । धनुषामा ४३ हजार ७ सय हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये जम्मा ३० हजार ५ सय ९० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । उक्त क्षेत्रफलमा ७० प्रतिशत मात्रै रोपाइँ भएको छ । रौतहटमा ३५ हजार हेक्टरमध्ये ३० हजार ६५ हेक्टरमा अर्थात् ८६ प्रतिशत रोपाइँ भएको छ । सर्लाहीमा ४३ हजार ६ सय ९४ मध्ये ३२ हजार ७ सय ७० हेक्टरमा रोपाइँ भएको छ । यो भनेको ६५ प्रतिशत हो ।
सप्तरीमा भने ७० प्रतिशत मात्रै रोपाइँ हुन सकेको छ । सप्तरीमा ६८ हजार हेक्टर क्षेत्रफलमध्ये ४७ हजार ६ सय हेक्टरमा मात्रै रोपाइँ हुन सकेको हो । महोत्तरीको धान रोपाइँ हुने कुल क्षेत्रफल ४२ हजार ५ सय हो । त्यसमध्ये २६ हजार १ सय ३७ हेक्टरमा अर्थात ६१.५ प्रतिशत रोपाइँ भएको छ ।

