
मधेसखबर
वीरगन्ज, १ फागुन : आम आदमी पार्टीका केन्द्रिय अध्यक्ष प्रभु साहले कम्युनिष्ट नेताहरु कम्युनिष्टको खोल ओढेर कम्युनिष्ट पार्टीलाई बदनाम गरिरहेको बताएका छन् ।वीरगन्जमा सोमबार आम आदमी पार्टीको पर्सा जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका साहले नेपालका कम्युनिष्ट पार्टीमा दलाल , तस्कर र माफियाहरु हाबी भएको र उनिहरुले नै पार्टी चलाइरहेको पनि बताए ।
रौतहट २ का प्रतिनिधीसभा सदस्य समेत रहेका साहले भने ,‘ कम्युनिष्ट पार्टीमा दलाल , तस्कर , माफिया हाबी भएका छन् , त्यसैले अहिले कम्युनिष्ट र काँग्रेस बिच कुनै अन्तर छैन ।नेपालमा भएका जनआन्दोलन , माओवादी जनयुद्ध र मधेस आन्दोलनका लक्ष्यबाट विमुख भएकै कारण देश अहिले जर्जर अवस्थामा पुगेको साहले बताए ।
साहले भने ,‘ जनआन्दोलनको मूल उदेश्य लोकतन्त्र ल्याउनु थियो , तर आज लोकतन्त्र दलतन्त्र र लुटतन्त्रमा परिणत भएको छ , माओवादी जनयुद्धको लक्ष्य किसान र मजदुरको सपना पुरा गर्ने थियो , तर जनयुद्धको उपलब्धि मुठ्ठीभरका दलाल ,भगौडा नेताहरुको चंगुलमा परेको छ , यस्तै मधेस आन्दोलनको एजेन्डाको हविगत पनि उस्तै छ , त्यसैलाई बदल्ने आम आदमी पार्टीको लक्ष्य हो ।
दलहरु हिजोको राजा जस्तो देशलाई लुट्ने शासक र जनता शासित लाचार भएको अवस्थामा रहेको उनले बताए ।तीनै लाचार र शोसित जनतालाई शासित होइन शासक बनाउनका लागि आम आदमी पार्टी गठन गरिएको उनले बताए । साहले भने ,‘ म कम्युनिष्ट विचारबाट विचलित भएको छैन , कम्युनिष्टको सच्चा विचारलाई स्थापित गराउन अहिले पनि अनवरत रुपमा लागिरहेको छु ।
किसान र मजदुरलाई सम्मान र अधिकार दिलाउन , जीवन स्तर उकास्ने लक्ष्य लिएर आम जनता पार्टी अगाडि बढेको पनि उनले बताए ।
मुलुकमा व्याप्त चरम भ्रष्टचारलाई जरै देखि उखेलेर फाल्ने संकल्पका साथ पार्टी अगाडि बढेकोले यसमा आम जनताको साथ आवश्यक भएको उनले बताए ।नेपालबाट लुटेर कालोधन विदेशमा लगेर थुपारेका दलाल पूजीपतिहरुलाई आम आदमी पार्टीले ठेगान लगाउने चेतावनी पनि उनले दिए ।
आम आदमी पार्टीका मधेस प्रदेश इन्चार्ज उपेन्द्र साहको अध्यक्षतामा आयोजित भेलालार्ई पार्टीका नेताहरु कदम रसुल लगायतले पनि सम्बोधन गरेका थिए ।

