वीरगन्ज,२८साउनः पर्सा जिल्लामा घरेलु हिंसाका भन्दा सम्बन्धविच्छेदका मुद्दा अधिक दर्ता भएका पाइएको छ । पर्सा जिल्ला अदालतका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा पर्सा जिल्ला अदालतमा ३ सय ४३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए ।
दर्ता भएका मुद्दामध्ये दुई सय ६४ सम्बन्धविच्छेदका मुद्दा फछ्र्योट भएका छन् । गत आर्थिक वर्षमा सम्बन्धविच्छेदका ७९ वटा मुद्दा फछ्र्योट हुन बाँकी रहेको पर्सा जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवले जानकारी दिए ।
पर्सा जिल्लामा घरेलु हिंसाका भन्दा सम्बन्धविच्छेदका मुद्दा धेरै दर्ता भएको उनले बताए ।घरेलु हिंसाका मुद्दा स्थानीय तहको न्यायिक समिति, प्रहरीलगायत निकायमा पनि मेलमिलाप हुने भएकाले समय सम्बन्धविच्छेदका मुद्दा बढेका हुन् । वैदेशिक रोजगारीलाई पनि सम्बन्धविच्छेदको प्रमुख कारण मानिएको छ ।
पर्सा जिल्ला अदालतका अनुसार गत आर्थिक वर्षमा ९५ वटा घरेलु हिंसासम्बन्धी मुद्दा दर्ता भएकामा ५३ मुद्दा फछ्र्योट भएका छन् । ४२ वटा मुद्दा भने फछ्र्योट हुन बाँकी छन् । गत आर्थिक वर्षमा पर्सामा जबर्जस्ती करणीका ९८ वटा मुद्दा दर्ता भएकामा ५६ वटा मुद्दा फछ्र्योट भएका छन् भने ४२ वटा फछ्र्योट हुन बाँकी छन् ।रासस

