वीरगन्ज,२३ साउनःवीरगंजबाट प्रकाशीत हुने भोजपुरी भाषाको एकमात्र पत्रिका भोजपुरी टाइम्स दैनिक पत्रिकाले आफ्नो १२ औं वार्षिकोत्सव शुक्रबार विभिन्न कार्यक्रम गरेर मनाएको छ ।
पत्रिकाको वार्षिकोत्सवको अवसरमा वीरगन्जस्थित जनजाति कल्याण आश्रम नेपाल “आमाको माया छात्रावास” आश्रममा आश्रित गरिब, दलित, असहाय बालबालिकाहरूको लागि चामल, दाल, नुन, तेल चाउचाउ, बिस्कुट लगायतका खाद्यान्न तथा शैक्षिक सामग्रीहरु वितरण गरिएको छ ।
पत्रिकाका प्रकाशक अजय कुमार चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जाराले भोजपुरी टाइम्स दैनिकको ११ औं वर्षको यात्रा भाषिक पत्रकारिताको क्षेत्रमा प्रेरणादायी भएको बताए । उनले आजको प्रतिस्पर्धि मिडिया बजारमा एउटै टिमले ११ वर्षसम्म निरन्तर प्रकाशन गर्नु आफैंमा ठूलो उपलब्धी रहेको बताए ।उनले भने, “पत्रकारिताको माध्यमबाट समाजमा चेतना फैलाउने काम गर्ने यो पत्रिकाले आज बालबालिकाहरूको लागि खाद्यान्न र शैक्षिक सामग्री वितरण गरेर मानवीय संवेदनशीलताको अद्भुत उदाहरण प्रस्तुत गरेको छ । म आशा गर्छु, आगामी वर्षहरूमा पनि यो पत्रिका सत्य, तथ्य र निष्पक्षताका आधारमा अझ मजबुत रूपमा अघि बढ्नेछ ।”
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले पत्रिकाले भाषिक विविधता र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान दिइरहेको बताउदै पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरे ।नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य राघव साहले भोजपुरी टाइम्स दैनिक पत्रिकाले आफ्नो वार्षिकोत्सवको अवसरमा असहाय बालबालिकाहरुलाई खाद्यान्न तथा शैक्षिक सामग्रीहरु वितरण गरी वार्षिकोत्सव मनाएकोमा प्रशंसा गर्दै पत्रिका र पत्रिका परिवारको सुरुवाती दिनदेखि अहिलेसम्मको संघर्ष र उपलब्धिको यात्रा स्मरण गर्दै शुभकामना व्यक्त गरे ।
प्रेस सेन्टर नेपाल मधेस प्रदेश अध्यक्ष निरज पीठाकोटे मगरले मातृभाषाको पत्रकारितालाई समय, परिस्थिति र प्रविधिसँगै अघि बढाउन निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिए ।उनले पत्रिकाको प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरे।कुमुदिनी एकेडेमीका सञ्चालक एवं शिक्षाप्रेमी श्रीरामजी गिरीले भोजपुरी टाइम्स दैनिक पत्रिका मधेस प्रदेशको मात्र नभई देशकै शान रहेको बताए ।
भोजपुरी प्रतिष्ठान वीरगन्जका सदस्य श्याम सर्राफको सहजीकरणमा भएको कार्यक्रममास्वागत भाषण पत्रिकाका कार्यकारी सम्पादक श्रवण प्रसाद साहले गरेका थिए ।

