
वीरगन्ज,२३ साउन : पर्सामा एक बालिकालाई १० रुपैयाँको नोट दिएर ललाई फकाई जंगलमा लगेर बलात्कार गरेका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका वडा नम्बर २ सुन्दरवस्तीका ४६ वर्षीय अशोक साह रहेका छन् ।
प्रहरी अनुसार, गत बुधबार बिहान १० बजेतिर बाख्रा चराउन गएका बेला ११ वर्षीया बालिकालाई साहले १० रुपैयाँको नोट दिएर ललाई फकाई नजिकैको जंगलमा लगेर बलात्कार गरेका थिए । घटनबारे थाहा पाएपछि पिडित बालिकाका अभिभावकले साहविरुद्ध प्रहरी कार्यालयमा त्यहि दिन किटानी जाहेरी दिएका थिए ।
जाहेरीका आधारमा प्रहरीले साहलाई बिहीबार नै अपरान्ह ३ बजेतिर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय पर्साको थुनामा राखिएको र उनिविरुद्ध जबरजस्ति करणी सम्बन्धि मुद्धा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिए ।

