वीरगन्ज,९ चैत :म्याग्दीको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य (सांसद) मा निर्वाचित डा. महावीर पुन सांसद बनेपछि पहिलो पटक वीरगन्ज आएर आफ्नो आत्मकथा लेखिएको किताब बिक्री गरेका छन् ।
आइतबार साँझ वीरगन्ज आइपुगेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहेका पुनले सोमबार बिहान घण्टाघर चोकमा पुगेर किताब बेच्न बिक्री गरेका हुन् । सोमबार बिहान ८ देखि ११ बजेसम्म घण्टाघर चोकमा १ सय ५० थान किताब बिक्री भएको पुनले जानकारी दिए ।
आँफु मंगलबार साँझसम्म वीरगन्ज कृषि औजार कारखानामा रहने भएकाले किताब किन्न इच्छुकले कारखानामै आएर सम्पर्क गर्न सक्ने पुनले बताए । मंगलबार साँझ भने आँफु काठमाडौं जाने उनले जानकारी दिए ।
चुनावपछिको फुर्सदको समय सदुपयोग गर्न आँफु विभिन्न जिल्लामा किताब बिक्री गर्दै हिडिरहेको उनले बताए । उनले भने,यसअघि किताब बेच्दै हिडेका बेला बीचमा फ्याट्टै मन्त्री भइयो ,मन्त्री हुदाँपनि किताब बेच्न सकेन । त्यसपछि चुनावमा उठियो,चुनावमा उठ्दा पनि किताब बेच्न सकिएन । चुनाव जितेपछि अहिले फुर्सदको समय छ त्यहि भएर फुर्सद किताब बेच्न हिडिरहेको छु । अब अरु बेलापनि फुर्सदका बेला किताब नै बेचिन्छ ।
संसद बैठक चलेका बेला सांसदको रुपमा काम गर्ने र सांसद बैठक नभएका बेला किताब नै बेच्दै हिड्ने भन्दै उनले भने , किनभने किताब बेचेर त्यसको पैसाले यो वीरगन्ज कृषि कारखाना धेरै ठूलो बनाउनु छ, धेरै राम्रो कारखाना बनाउनु छ ।
यसअघि किताब बेच्ने क्रममै २०८१ को भदौं अन्तिम साता वीरगन्ज आएका पुनले त्यस बेला ९ दिने वीरगन्ज बसाईका क्रममा दुई हजार थान किताब बिक्री गरेका थिए ।
सोमबार बिहान घण्टाघर चोकमा किताब बिक्री गर्दै गरेको अवस्थामा भेटिएका पुनले सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्नु अघि लगातार ५ सय २६ दिनसम्म किताब बिक्री गर्दै विभिन्न जिल्लामा पुगेको जानकारी दिए । उक्त ५ सय २६ दिनमा करिब २ लाख ५० हजार थान किताब बिक्री गरेर त्यसबापत सबै खर्च कटाएर १२ करोड रुपैयाँ बढी आम्दानी गर्न सफल भएको उनले बताए । त्यो रकमले नै वीरगन्ज कृषि औजार कारखाना सञ्चालन गरिरहेको उनले जानकारी दिए ।
करिब दुईदशक देखि बन्द रहेको वीरगन्ज कृषि औजार कारखाना पुन अध्यक्ष रहेकै राष्ट्रिय आविष्कार केन्द्रले जिम्मा लिएर मर्मत सम्भार गरी सञ्चालन गरिरहेको छ ।
सोभियत संघ रुसको सहयोगमा विक्रम संवत २०२१ सालमा स्थापित सरकारी स्वामित्वको वीरगन्ज कृषि औजार कारखाना निरन्तर घाटामा गएको भन्दै सरकारले २०५९ सालमा पूर्णा रुपमा बन्द गरिदिएको थियो । दुई दशकदेखि बन्द उक्त कारखाना पुन चलाउनका लागि भन्दै सरकारले २०७९ भदौं ३१ मा राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिने निर्णय गर्यो ।
त्यसपछि आविष्कार केन्द्र र अर्थ मन्त्रालयबिच २०७९ असोज ११ गते भएको सम्झौता भयो । उक्त सम्झौतापत्रमा काारखानाको मर्मतसम्भार लगायतका कामका लागि आवश्यक बजेट अर्थ मन्त्रालयले आविष्कार केन्द्रलाई उपलब्ध गराउनुपर्ने उल्लेख थियो । कारखाना पुन सञ्चालनका लागि विकल्प सुझाउन कृषि मन्त्रालयले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदनमा कारखाना मर्मतसम्भार गरी पुन सञ्चालनमा ल्याउनका लागि ३० करोड रुपैयाँ आवश्यक पर्ने उल्लेख गरिएको थियाोे ।
तर अर्थ मन्त्रालयले आावश्यक बजेट दिन चासो नै नलिएपछि आविष्कार केन्द्रका अध्यक्ष पुनले आवश्यक रकमको जोहो गर्न आँफै अगाडि सर्दै आफनो आत्मकथा लेखेको पुस्तक बेच्न २०८० पुषदेखि देश दौडाहा अभियान थालेका थिए । त्यसयता उनले निरन्तर देशका विभिन्न स्थानमा पुगेर किताब बिक्री गर्दै आइरहेका छन् ।
कारखाना सञ्चालनको जिम्मा लिएको आविष्कार केन्द्रले कारखानामा रहेका पुराना उपकरण र मेशिनहरु मर्मत सम्भार गरेर हालसम्म करिब ५ दर्जन प्रकारका कृषि औजारहरु उत्पादन गर्दै बिक्री वितरण गर्दै आइरहेको छ ।

