वीरगन्ज,१९साउनःपर्साको पटेर्वा सुगौली गाँउपालिका–१ सोनवर्षा गाँउ छेउबाट सुरु पर्सा राष्ट्रिय निुकञ्जको जंगलको बीचमा अवस्थित छ धार्मिकस्थल ‘रामभौरीं भाठा धाम’ ।भाठा धाममा प्रसिद्ध दुग्धेश्वरनाथ महादेवको मन्दिरसंगै पार्वती माताकोपनि मन्दिर छ ।
भाठा धाममा साउन महिनभरी मेला लाग्छ ।साउन महिनमा दुग्धेश्वर महादेवको मन्दिरमा जल चढाउन तथा पूजापाठका लागि पर्सा,बारा,रौतहट,सर्लाहीसंगै छिमेकी भारतको बिहार र उत्तर प्रदेश राज्यबाट लाखौं दर्शनार्थीहरु पुग्छन् ।
साउन महिनामा भारतको झारखण्डमा रहेको प्रसिद्ध ‘बाबा धाम’ को देवघरमा जल चढाउन जान नसक्ने यस क्षेत्रका हिन्दु धर्मावलम्बीहरुको रोजाईमा पर्न थालेको छ । वर्षैपिच्छे साउन महिनभर भाठा धाममा आउने भक्तजनहरुको संख्या अप्रत्याशीत रुपमा बढ्दै गएको दुग्धेश्वरनाथ महादेव मन्दिर निर्माण तथा संरक्षण समितिका पदाधिकरीहरु बताउँछन् ।
दर्शन र पूजापाठका लागि आउने भक्तजनहरुको आस्था बढ्दै गएपनि घाठा धामको संरक्षण गर्दै व्यवस्थापनमा सरकारको भने ध्यान नपुगेको समितिका अध्यक्ष अलखदेव प्रसाद थारु बताउँछन् ।
साउन महिनामा मात्रै भाठा धामममा १५ लाख भन्दा बढी नै भक्तजनहरु आउँछन्,यहाँ खुट्टा राख्ने ठाँउ नै हुदैन,उनि भन्छन्,‘ तर भक्तजनहरुका लागि यहाँ न खानेपानीको सुविधा छ , राती बास बस्न व्यवस्थित धर्मशालामा पनि छैन, बिजुलीत्ती पनि छैन।’
साउनको सोबारका दिन जल चढाउन भक्तजनहरु आइतबार नै आएर बास बस्ने र भोलिपल्ट मात्रै्र जल चढाएर फर्कने गरेकाले पानी परेका दिन उनिहरुलाई ओत लाग्ने ठाँउपनि नभएको अध्यक्ष थारु बताउँछन् ।
सोनवर्षा र छिमेकका गाँउँले डेढ दशकपहिले आँफैमा चन्दा संकलन र श्रमदान गरेर भाठा धाममा भक्तजनहरुका लागि दुई तल्ले धर्मशाला निर्माणको काम थालेपनि निकुञ्जको अवरोधका कारण अधुरो र अलपत्र परेको अध्यक्ष थारु बताउँछन् । उनि भन्छन्,‘हामी गाँउले आँफैले चन्दा उठाएर र श्रमदान गरेर धर्मशाला बनाउने काम सुरु गर्यौ । तर निकुञ्ज प्रशासनले निकुञ्जभित्र पक्की संरचना बनाउन पाइदैन भनेर बीचमै काम रोकि दियो । त्यसका लागि हामीले जिल्लाबाट मन्त्री ,सांसद भएका सबै नेतालाई पटक पटक गुहार्यौ तर कुनै सुनुवाई नै भएन।’
चन्दा संकलन र जनश्रमदानबाट धर्मशालामा डेढ करोड रुपैयाँ भन्दा बढीकै काम भइसकेको अवस्थामा निकुञ्जले काम रोकिदिएको उनि बताउँछन् । भाठा मेला व्यवस्थापन समितिका अध्यक्ष गेनालाल पटेल भन्छन्,‘कमसे कम यो धर्मशााला बन्यो भने भक्तजननहरुलाई पानी परेका बेला ओत लाग्ने ठाँउ हुन्थ्यो । राति आरामसंग सुत्न मिल्थ्यो । हामी आँफैले बनाउछौं भन्दापनि बनाउन दिइएको छैन।’
भाठा धाम र मेलास्थलमा पानी र शौचालयको व्यवस्थित सुविधा नहुदाँ भक्तजनहरुले निक्कै सास्ती खेप्न परिरहेको उनि सुनाउँछन् ।पटेल भन्छन्,‘ यहि साउनको दोस्रो सोमबारमात्रै ७ लाख बढी नै भक्तजनहरु यहाँ आएका थिए । अब त्यत्रो संख्यामा आएकाहरुका लागि यहाँ न खानेपानीको सुविधा थियो, न शौचालयको न बिजुलीबत्तीको ।’
मेला समितिले मेलाबाट संकलित चन्दा रकमबाट खोलाको मुहानबाट पाइपमार्फत मेलास्थलमा पाइप ल्याएर जेनतेन खानेपानीको प्रबन्ध मिलाएको उनि बताउँछन् । मेला अवधिभरका लागि पटेर्वा सुगौली गाँउपालिको जस्ताले बारेर केहि अस्थायी शौचालय बनाइदिएको भएपनि शौचालयसम्म पानी नपुग्दा भक्तजनहरुलाई सास्ती भइरहेको पटेल बताउँछन् ।
उनि भन्छन्,‘ माथि मन्दिरमा त त्योपनि छैन । न खानेपानी को सुविधा छ न शौचालयकाो सुविधा छ । बिजुली नुहदाँ राति मन्दिर अध्याँरोमै हुन्छ।’
दुग्धेश्वरनाथ महादेव र माता पार्वतीको मन्दिरपनि गाँउले आँफैले चन्दा संकलन र श्रमादान गरेर निर्माण गरेको पटेल बताउँछन् । उनि भन्छन्,‘ भाठा धामममा मन्दिर, मन्दिरसम्म पुग्ने पक्की भर्याङ लगायत जेजति संरचना छ ती सबैमा सरकारको एक सुकोपनि लगानी छैन । सबै काम हामी गाँउले आँफैले गरेका हौं।’
पर्सा जिल्लाबाट यसैपालिका संघ र प्रदेशमा गरी पाँच जना मन्त्रीहरु भएपनि जिल्लाकै प्रमुख धार्मिकस्थल भाठा धामको संरक्षण र विकासमा कुनै चासो नै नदेखाएको गुनासो उनि पोख्छन् ।उकन अनुसार, निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले भाठाधामसम्म पुग्ने सडक निर्माणका लागि १ करोड रुपैयाँ बजेट दिने वाचा गरेका थिए ।पर्साबाटै प्रदेश सभा सदस्यमा निर्वाचित भई मधेस प्रदेशको पहिलो मुख्ययमन्त्री बनेका लालबाबु राउतलेपनि भाठा धामको पूर्वाधार निर्माणका लागि ५ करोड रुपैयाँ दिने घोषणा गरेका थिए । संघ सरकारका हालका खानेपानी मन्त्री प्रदीप यादवले पनि भाठा धाममा खानेपानी आयोजना निर्माण गरिदिने प्रतिबद्धता जनाएका थिए । संघ सरकारकै हालका कानुनमन्त्री अजय चौरसियाले धर्मशाला निर्माणमा निकुञ्ज प्रशासनले गरेको अवरोध हटाउन मन्त्रालयका तर्फबाट पहल गर्ने वाचा गरेका थिए ।
तर ती मन्त्रीहरुको वाचा, घोषणा र प्रतिबद्धता सबै खेर गएको मेला समितिका अध्यक्ष पटेल बताउँछन् ।उनि भन्छन्,‘ यहि जिल्लबाट एकैसाथ पाँच पाँच जना मन्त्री भए । यो गर्छु त्यो गर्छु भनेर गफ हाँके । तर काम भने एक सिन्कोपनि भाँचेनन् ।आफ्नै जिल्लाको प्रसिद्ध धार्मिकस्थलका लागि केहि गर्न नसक्दा उनिहरुलाइ त लाज लाग्नुपर्ने हो ।तर लाजै छैन ।’
गाउँले आँफैले पहल गरेर प्रदेश सरकारबाट ल्याएको बजेटबाट भएको कामको भुक्तानीपनि जिल्लाकै एक मन्त्रीले रोकि दिएको महादेव मन्दिर निर्माण तथा संरक्षण समितिका सदस्य मनोज यादवको गुनासो छ ।
उनि भन्छन्,‘प्रदेश सरकारको पर्यटन मन्त्रालयबाट यसपालि ५० लाखको योजना ल्यायौं ।सुरुमा त खेलकुदमन्त्री प्रमोद जयसवालले आफ्ना ठेकेदारलाई काम दिने प्रपञ्च रचे ।तर निकुञ्जले ठेकेदारलाई काम दिन नमिल्ने भन्दै अनुमति नदिएपछि मन्दिर व्यवस्थापन समितिले त्यो कामका लागि कार्यदेश पायो । हतार हतारमा काम सकाएर भुक्तानीका लागि पर्यटन विकास कार्यालयमा बीलभपाईसहितको फाइल पेस गर्यौ । तर मन्त्री जयसवालको चलखेलमा भुक्तनी नै रोकियो।’
मेला व्यवस्थापन समितिका अध्यक्ष पटेलपनि मन्त्री जयसवालको चलखेलमा भुक्तानी रोकिएको बताउँछन् ।उनि भन्छन्,‘आएको बजेट फ्रिज हुने सम्भावना भएपछि हामीले मन्त्री जयसवाललाई गु्हार्यौ । तर उनले आफ्ना निकटका ठेकेदार राजेश पटेललाई ५ लाख दिनुपर्छ भनेर भने । धेरै हारगुहार गरेपछि ३ लाखमा कुरा मिल्यो । अनि समितिले ती ठेकेदारलाई तीन लाखको चेक काटेर दिइपछि मात्रै काम समितिले पयो । तर काम सकेर भुक्तानीका लागि फाइल पर्यटन कार्यालयमा असार २४ गतेनै पेस गर्यौ । त्यहाँपनि मन्त्री जयसवालको चलखेल भयो । कार्यालय प्रमुख बबिता जयसवालले असार २५ मा भुक्तानी नै गरिनन् । आर्थिक वर्षपनि सक्कियो ।’
पर्यटन कार्यालले भुक्तानी नदिएका कारण आँफुहरु थप तनावमा परेको महादेव मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष थारु भन्छन्,‘पसलहरुबाट उधारोमा सिमेन्ट,स्टिल पाइप लगायतका सामान ल्याएर काम गरायौं । अरुसंग सरसपाट लिएर मिस्त्री र मजदुरको ज्यला दियौं । अहिले भुक्तानी नै नभएपछि हामी तनावमा छौं ।’
धर्मको काममा पनि कमीशनका लागि मन्त्री जयसवालले गरेको हर्कत लाजमर्दो भएको थारु बताउँछन् । उनी भन्छन्,‘असार २५ मा भुक्तानी नभएप्छि असार २६ गते बिहानै मन्त्री ज्युले मलाई फोन गरेर‘ ,तपाइहरुको भुक्तानी भएछ त, ल बधाई छ ’ भन्दै गिज्याउनु भयो।’
पटेर्वा सुगौली गाँउपालिकाका अध्यक्ष दिनेश चौधरी भाठा धाम जिल्लाकै एक प्रमुख धार्मिक तथा पर्यटकीय स्थल भएपनि सरकारको ध्यान नपुगेको गुनासो सुनाउँछन् । स्थानीय सरकारले सिमित स्रोत र साधनका बाबुजदपनि आफ्नो तर्फबाट सकेको काम गर्दै आएको उनि बताउँछन् । उनले भने,‘तर यो धार्मिक स्थललाई भारतको बाबाधाम,राम मन्दिर जस्ता धार्मिकस्थलका रुपमा विकास गर्न पालिकाको बजेटले पुग्दैन । यसका लागि ठूलै बजेट चाहिन्छ । त्यसका लागि जिल्लाबाट मन्त्री र सांसद भएकाहरुले नै पहलकदमी लिनुपर्छ ।’