वीरगन्ज,१२साउनःपर्साको ठोरी गाउँपालिकाले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी गरी कुल १ हजार ९०६ जनाको नामावली कार्यपालिका बैठकबाट प्रमाणीकरण गरी भूमि समस्या समाधान आयोग पर्सालाई उपलब्ध गराएको छ ।
सोमबार वीरगन्जस्थित भूमि समस्या समाधान आयोग पर्साको कार्यालयमा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले प्रमाणीकरण गरिएको नामावली आयोगका जिल्ला अध्यक्ष तबरेज अहमदलाई हस्तान्तरण गरका हुन्।
गाँउपालिका अध्यक्ष श्रेष्ठका अनुसार उक्त नामावलीमा २६ जना भूमिहिन दलित, १४० जना भूमिहिन सुकुम्बासी र १ हजार ७४० जना अव्यवस्थित बसोबासी रहेका छन्। अध्यक्ष श्रेष्ठले यो कार्यलाई ठोरी गाउँपालिकाको तर्फबाट ऐतिहासिक जिम्मेवारीको रूपमा पूरा गरिएको उल्लेख गर्दै अब छिटोभन्दा छिटो स्थानीयवासीले जग्गाधनी प्रमाण–पत्र (पुर्जा) प्राप्त गर्ने विश्वास व्यक्त गरे।
नामावली प्राप्त गरेसँगै आयोगका जिल्ला अध्यक्ष अहमदले आयोगले अब केही दिनमै नापजाँचको प्रक्रिया सुरु गर्ने जानकारी दिए। उनले दशौं वर्षदेखि आशा र भरोसामा बसेका भूमिहिनहरुले अब आफूले बसोबास गर्दै आएको भूमि अधिकारस्वरूप पाउने दिन नजिक आएको उल्लेख गरे।
कार्यक्रममा गाँउपालिकाका निमित्त प्रमुख प्रशासकीय धर्मराज थापा, भूमि शाखा प्रमुख हेम चापागाईं, पर्सागढी नगरपालिकाका कार्यपालिका सदस्य असलम आलम, आयोगका सर्भेक्षक तथा अमिनहरुको उपस्थिति रहेको थियो।

