वीरगन्ज,१०साउनः खडेरी र चापाकल सुकेर मधेस प्रदेश संकटग्रस्त बनेको बेला वीरगन्जमा शनिबार मुस्लिम समुदायले अल्लाह (भगवान्) संगै पानी माग्दै ‘इस्तिस्का’ नमाज (प्रार्थना) गरेका छन् ।
शनिबार वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंस्थित इदगाहमा सामुहिक रुपमा भेला भएर मुस्लिम समुदायहरुले पानीका लागि ‘इस्तिस्का’ नमाज (प्रार्थना) गरेका हुन् ।
अलौंका स्थानीय आशीक अन्सारीका अनुसार, इदगाहमा करिब ४ सयको संख्यामा भेला भएका मुस्लिम समुदाय सुरुमा ‘इस्तिस्का’ नमाज (प्रार्थना) गरे । त्यसपछि उनिहरुले अल्लाहसंग पानीको लागि दुवा(गुहार)पनि मागे । अल्लाहसंग दुवा माग्दै उनिहरुले भनेका थिए,‘ हे अल्लाह हामीलाई थाहा छ तपाई रिसाउनु भएको छ । तर तपाई त सबैको मालिक हो । त्यसका कारण हाम्रो दुवा कबुल गर्नु होस् । वर्षा गराइ दिनस् । किनकि वर्षा नभएर धर्तीका रुखबिरुवाहरु छट्पटाइरहेका छन् । पानी खान नपाएर मानिसहरु तड्पी रहेका छन् । त्यसका कारण हाम्रो फरियाद (गुहार) सुनि दिनहोस् भगवान् ।’
लामो समयदेखि वर्षा नभएर परेको खडेरीले बालीनाली डढ्न थालेको तथा चापाकलहरु सुकेर पिउने पानीकै हाहाकार भएपछि वीरगन्जका मुस्लिम समुदायले वर्षा र पानी माग्दै अल्लाहलाई गुहारेको अन्सारीले बताए । उनले भने,‘ हामीलाई हाम्रो भगवान् अल्लाहमाथि भरोसा छ । उहाँले हाम्रो दुवा कबुल (स्वीकार( गर्नु नै हुनेछ । छिट्टै यहाँ वर्षा हुनेछ । हामीले पिउने पानी पाउने छौं।’

