वीरगन्ज,२असाेज:बाराको परवानीपुर सवस्टेसनमा बुधबार दिउँसो लागेको आगोका कारण यसक्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ । औद्योगिक तथा व्यापारिक नगरी बारा-पर्सामा ११ केभिए क्षमताको सबस्टेसनमा आगलागी हुँदा विद्युत आपूर्ति सेवा बन्द भएको हो ।
परवानीपुरस्थित ११ केभिए क्षमताको सबस्टेसनमा लागेको आगोका कारण ‘प्यानल’ जलेर विद्युत् आपूर्ति प्रणालीमा क्षति हुँदा विद्युत् प्रवाह प्रभावित भएको हो ।
प्यानलमा सर्टसर्किटका कारण आगलागी हुँदा वीरगन्ज, सिमरा, गण्डक, डाबर, नारायणी, हिमाल, परवानीपुर, जगदम्बा, वीरगञ्ज, नितनपुर, चोर्नी र भलुही फिडरबाट वितरित विद्युत् आपूर्तिमा समस्या देखिएको थियो ।
बुधबार वीरगन्जबाट गएको वरुणयन्त्र, स्थानीय प्रहरी र सर्वसाधारणको सहयोगमा आगो नियन्त्रणमा लिइएको नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवेले जानकारी दिए । उनका अनुसार विद्युत् सेवा पुनः नियमित सञ्चालनमा ल्याउन तत्काल प्राविधिक समस्या भइरहेको छ ।
बुधबार रातभर काम गरेर आज बिहीबार बिहान विद्युत् सञ्चालनमा ल्याएका थियौं । बिहान ९ः३० बजेपछि पुनः समस्या आएर विद्युत् आपूर्ति ठप्प जस्तै भएको छ’, उनले भने, ‘वीरगन्ज र बाराको पिलुवास्थित सबस्टेसनमा रहेको ब्रेकरको बुस पड्किएर थप विद्युत आपूर्तिमा समस्या आएको छ ।’
वीरगन्ज वितरण केन्द्रका प्रमुख दुवेले परवानीपुरको सबस्टेसनमा आगो लागेपनि त्यस ठाउँमा पनि वीरगन्जबाट विद्युत् पठाउनु पर्दा क्षमताले धान्न नसकेको बताए । उनले भने, ‘अहिले वीरगन्जको सबस्टेसनबाट परवानीपुरमा विद्युत् पठाउनुपर्ने बाध्यता छ ।’
प्रमुख दुवेले ११ केभिएबाट सञ्चालन हुने सबै उद्योगधन्दामा विद्युत् प्रवाह गर्न नसकिएको उल्लेख गरे । ‘यो अहिले देखिएको समस्या समाधानका लागि कम्तीमा १५ दिन लाग्ने देखिन्छ । हाम्रोतर्फबाट काम भइरहेको छ ।’ पिलुवास्थित सवस्टेसनको ब्रेकर बुस मर्मतसम्भार गरेर बिजुली उपलब्ध गराउन थालिएको उनले जानकारी दिए ।

