वीरगन्ज,५साउनःसंविधानसभा सदस्य प्रमोद गुप्ता र पूर्व प्रदेश सभा सदस्य पारस साह जनमत पार्टीमा प्रवेश गरेका छन् ।
बाराको कलैयामा सोमबार जनमत पार्टीद्वारा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा गुप्ता र साह जनमत पार्टीमा प्रवेश गरेका हुन् । दुवै जना अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतले दुवै नेतालाई फूलमाला लगाएर पार्टीमा स्वागत गरे । त्यसअवसरमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, पर्यटनमन्त्री बसन्त कुशवाहा लगायतका नेताहरुकोपनि उपस्थिती थियो ।
सोमबार जनमत पार्टीमा प्रवेश गरेका गुप्ता बाराको निर्वाचन क्षेत्र नम्बर ३ बाट पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमबाट निर्वाचित भएका थिए । साह भने २०७४ को निर्वाचनमा बाराको निर्वाचन क्षेत्र नम्बर ३ को (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
सोमबारको पार्टी प्रवेश कार्यक्रममा संविधान सभा सदस्य गुप्ता, पूर्व प्रदेश सभा सददस्य साहसहित ७ सय भन्दा बढी व्याक्तिहरु विभिन्न दल परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टी बाराले जनाएको छ ।

