जनकपुरधाम,४मंसिर: मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएपछि उनले राखेका करारका कर्मचारीहरु हटाउनेसहितका निर्णय बिहीबार बसेकाे सर्वदलीय बैठकमा ७ दले माग गरेका छन्।
उपसभापति बबिता राउत इशरले बिहीबार बोलाएको सर्वदलीय बैठकमा सहभागी ७ दलका प्रतिनिधिले मण्डलले नियुक्त गरेका करारका कर्मचारीहरु हटाउन माग गरेका हुन् ।
मण्डलले नियुक्त गरेका करार कर्मचारीले उनिविरुद्धकाे महाअभियाेगकाे प्रस्ताव दर्तादेखि पारित हुँदासम्म धेरै असहयोग गरेको भन्दै सात दलीय गठबन्धनले उनीहरूलाई हटाउन माग गरेको हो । बैठकमा उपसभामुख इशरले आवश्यक प्रक्रिया पूरागरी दलहरूको माग सम्बोधन गरिने बताइन् ।
यस्तै बुधबार सभामुखमाथिको महाअभियोगको प्रस्तावमाथि छलफलको लागि बोलाइएको बैठकअघि विजुली काटेको विषयमा छानबिन गर्न प्रहरीलाई आग्रह गर्ने निर्णयपनि बैठकले गरेको छ ।
बैठकमा मुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता सरोजकुमार यादव समेत सहभागी थिए।साभार:अनलाइनखबर

