वीरगन्ज,२३ वैशाखःवीरगन्ज महानगरपालिका वडा नम्बर ३० मा भोजपुरी गीत बजाउन प्रतिबन्ध लगाइएको छ ।बुधबार वडाध्यक्ष मनोज कुमार यादवको अध्यक्षतामा बसेको गाँउ भेलाले वडामा कुनैपनि सामाजिक वा निजी कार्यक्रम ( विवाह, भोज लगायतका उत्सव) मा कुनैपनि भोजपुरी गीत बजाउन नपाइने सर्वसम्मत निर्णय गरेको हो । यदि कसैले भोजपुरी गीत बजाएको पाइएमा कारबाही तथा नगद जरिवानासमेत गर्ने निर्णय गरिएको वडाध्यक्ष यादवले जानकारी दिए ।
यस्तै गाँउ भेलाले गाँउमा कसैको घरमा विहेको जन्ती आएका बेला सम्बन्धित व्याक्तिको आदेश बिना जन्तीमा प्रवेश गर्ने व्याक्तिलाई कारबाीसहित नगद जरिवाना गर्ने निर्णय पनि गरेको वडाध्यक्ष यादवले जानकारी दिए ।
वडाध्यक्ष यादवका अनुसार, गाउँ भेलाले वडामा सञ्चालनमा रहेका मदीरा पसलहरु बेलुकी ८ बजेनै बन्द गर्ने निर्णयपनि गरेको छ । यसैगरि राति १० बजेपछि आफ्नो घर बाहेक गाँउमा अनावश्यक रुपमा डुल्न नपाइने, मदिरा सेवन गरी चोकचोकमा होहल्ला गर्न नपाइने निर्णय पनि गरिएको वडाध्यक्ष यादवले बताए। यदि त्यस्तो गरेको फेला परेमा सम्बन्धित व्याक्तिलाई सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइ कारबाही गरिने उनले बताए ।
केहि समय यतामा गाँउमा सामाजिक परम्पराका नाममा विकृतिहरु बढेको, जाँडरक्सी खाएर झहीझगडा गर्ने प्रवृति मौलाएको जस्थता लगायतका विकृतिहरु बढेर वडामा सामाजिक वातावरणमै खलल पुग्न थालेपछि गाँउबासीको भेला बसेर यस्ता निर्णयहरु गरिएको वडाध्यक्ष यादवले बताए।
गाँउ भेलामा वडाका जन्रतिनिधि, नेपाल प्रहरीका प्रतिनिधि, गाँउका अगुवा, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, युवा अगुवा लगायतकाको सहभागिता रहेको थियो ।


