Madhes Khabar
राजनीति हेडलाइन

बारा ४ मा दुई पूर्व मन्त्री सहित त्रिपक्षीय भिडन्त, गठबन्धनका किसान संकटमा

मधेसखबर
वीरगन्ज,१५ कार्तिक : बारा क्षेत्र नं. ४ प्रतिनिधि सभा सदस्यका लागि दुई पूर्वमन्त्री सहित तीन जना प्रतिस्पर्धामा छन् । नेकपा एमालेको तर्फबाट पूर्व युवा तथा खेलकुद मन्त्री एकबाल मियाँ र नेकपा एकिकृत समाजवादीबाट पूर्व श्रममन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) चुनावी मैदानमा छन् ।

एमालेका उम्मेदवार मियाँ बारा परवानीपुर गाँउपालिका १ का स्थानीय नागरिक हुन् भने समाजवादीका श्रेष्ठ तनहुँ व्यास नगरपालिकाका ४ का बासिन्दा हुन् । तनहुँ छोडेर बारा आएर निर्वाचन लड्दै गरेका श्रेष्ठको यस निर्वाचन क्षेत्रको मतदाता नामावलीमा नाम समेत छैन । उनी आँफैले आँफैलाई समेत मतदान गर्न पाउँदैनन् ।

दुई पूर्वमन्त्री बाहेक यस क्षेत्रमा नेपाली कांग्रेसका नेता इच्छाबहादुर वाग्लेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । गठबन्धनका नाममा कांग्रेसलाई सिध्याउने खेल भएको भन्दै वाग्लेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसका कार्यकर्ता माझ लोकप्रीय वाग्लेको उम्मेदवारीले यस क्षेत्रको निर्वाचन त्रिपक्षीय मोडमा पुगेको छ ।

उम्मेदवारी दर्ता गराएसंगै निर्वाचन प्रचारमा जुटेका तीन उम्मेदवारमध्ये यतिबेला एकिकृत समाजवादीका उम्मेदवार श्रेष्ठलाई कठिन हुने देखिएको छ । सिमरामा जग्गा प्लटिङको कारोवार र होटल व्यवसाय गर्दै आएका श्रेष्ठले कांग्रेसलाई पाखा लगाउदै आफै उम्मेदवार बनेकाले बढि संकट पर्ने देखिन्छ ।

कांग्रेसले टिकट प्राप्त गर्ने सम्भावनालाई उल्टाउँदै श्रेष्ठले टिकट लिएपछि कांग्रेसका नेताकार्यकर्ता रुष्ट छन् । कांग्रेसका नेताकार्यकर्ता रुष्ट भएका कारण श्रेष्ठलाई निर्वाचन सहज नहुने निश्चित छ । यस क्षेत्रमा कांग्रेसको बलियो जनमत छ । बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्ने हो भने यस क्षेत्र भित्र गठबन्धन दलतर्फ कांग्रेस पहिलो नम्बरमा पर्दछ भने एकिकृत समाजवादी पुछारमा पर्छ ।

बारा क्षेत्र नं. ४ मा रहेको ३८ वटा वडामध्ये एकिकृत समाजवादीले तीन वडामा मात्रै जित हात पारेको छ । समाजवादीले जीतपुरसिमरा १०, बिश्रामपुर ४ र प्रसौनी ३ मा जितेको थियो ।

तर यसै निर्वाचन क्षेत्रमा कांग्रेसले आठ वडा जितेको छ । जीतपुरसिमरा उपमहानगरको नगर उपप्रमुख पद केही मतान्तरले गुमाउन पुगेको कांग्रेसले जीतपुरसिमराको १, ५, २२, २४, कलैयाको १७, परवानीपुरको १, प्रसौनीको २ र बिश्रामपुरको ३ नम्बर वडा जितेको हो । यस क्षेत्रमा गठबन्धन दलभित्रका लोसपाले चार र माओवादी केन्द्रले चाररचार वडा जितेका छन् ।

यता नेकपा एमाले एक्लैले यस क्षेत्रमा १४ वडा जितेको छ भने मंसिर ४ गतेको निर्वाचनका लागि एमालेसंग तालमेलमा रहेको जसपाले चार वटा वडामा बिजय प्राप्त गरेको छ । गठबन्धन र तालमेल बाहिर रहेको विवेकशिल साझा पार्टीले फेटा ३ मा जितेको छ ।

कांग्रेस, लोसपा र माओवादी भन्दा कमजोर रहेको अवस्थामा एकिकृत समाजवादीले प्रतिनिधिसभा सदस्यको टिकट लिएको हो । यस क्षेत्रमा बलियो जनमत रहेको कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा दुवै क्षेत्रमा टिकट प्राप्त गर्न सकेन जसले गर्दा काँग्रेस कार्यकर्ता झन् बढि निराश छन् ।

यता सांगठानिक हिसाबले अत्यन्तै कमजोर एकिकृत समाजवादीका जिल्लास्थित नेता कार्यकर्ताले समेत श्रेष्ठको आगमन पछि असन्तुष्ट हुँदै पार्टी छाडेका छन् । एमाले विभाजित हुँदा एकिकृत समाजवादीतर्फ लागेका जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मा सहितका नेताकार्यकर्ता एमाले फर्किएका छन् । मधेस प्रदेशका विधायक समेत रहेका विश्वकर्मा, अर्की विधायक सिता गुरुङसहित जिल्ला सचिवालय र जिल्ला कमिटीका नेताहरु एमाले फर्किएपछि एकिकृत समाजवादी झनै कमजोर बन्न पुगेको छ । उनिहरु एमाले प्रवेश गरेसंगै समाजवादीतर्फ लागेका उनिहरुका कार्यकर्ता पनि एमालेमा समाहित भएका छन् ।

लामो समयदेखी जिल्लामा राजनीति गर्दै आएका काँग्रेस नेतृत्वलाई पछार्दै टिकट लिएका श्रेष्ठ अहिले तिनै असन्तुष्ट नेताकार्यकर्ता बटुलेर चुनावी अभियान अघि बढाउदैछन् । जुन श्रेष्ठका लागि सकस देखिएको छ ।

श्रेष्ठले अहिले २०७४ सालको निर्वाचनमा निर्वाचित भएको तनहुँ १ कांग्रेस नेता रामचन्द्र पौडेललाई छोडेर बारा आएको बताइरहेका छन् । तर तनहुँ १ मा कांग्रेसका नेता पौडेलले प्रतिस्पर्धा गर्ने निश्चित भएको र उनको क्षेत्रमा समाजवादीको प्रभाव कम भएपछि उनि बारा आएका हुन् । श्रेष्ठ निर्वाचित तनहुँ १ मा गएको स्थानीय तह निर्वाचनमा नेकपा एकिकृत समाजवादीले आठ सय ५२ मत मात्रै प्राप्त गरेको थियो । उक्त क्षेत्रमा कांग्रेसको ३३ हजार, एमालेको २८ हजार र माओवादीको आठ हजार मत छ ।

कांग्रेसलाई पन्छाउदै प्रदेशसभाको दुई क्षेत्रमा माओवादी केन्द्र र लोसपालाई साथमा लिएर अघि बढेका श्रेष्ठ अहिले तिनै कांग्रेस कार्यकर्ताको मतमा निर्भर छन् । कांग्रेस कार्यकर्ताले मत दिए चुनाव जित्ने दाउमा छन् । तर कांग्रेसबाट लामो समय राजनीति गर्दै आएका वाग्ले उनका लागि पर्खाल बन्ने देखिन्छन् । कांग्रेसको अगुवा नेताका रुपमा चिनिने वाग्ले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा अघि बढिरहेका छन् । उनलाई कांग्रेस कार्यकर्ताले साथ दिन थालेका छन् ।

उम्मेदवार नै नभएको क्षेत्रमा लामो समय कांग्रेसको राजनीति गरेका वाग्ले मतदाताका लागि विकल्पका रुपमा अगाडी आएको चर्चा हुन थालेको छ । होटल तथा पर्यटन व्यवसायमार्फत सिमरालाई चिनाउन र त्यसैको माध्यमबाट यस क्षेत्रको विकासमा योगदान पु¥याएका वाग्ले कमजोर उम्मेदवार नभएको तर्क गर्न थालिएको छ । वाग्लेको चुनावी अभियानमा कांग्रेसका सक्रिय नेताकार्यकर्ता साथमा देखिन थालेपछि उनलाई बलियो उम्मेदवारका रुपमा हेर्न थालिएको छ ।

श्रेष्ठका लागि अर्को पर्खाल एमाले उम्मेदवार मिया हुन् । २०७४ सालको निर्वाचनमा बारा क्षेत्र नं.४ बाट निर्वाचित भएका मिया लोसपा छोडेर पुनः एमाले फर्किएका छन् । तत्कालिन राजपा (हाल लोसपा) बाट सांसदमा निर्वाचित हुनुअघि मिया एमालेमा सक्रिय थिए । उनको आगमनले एमाले झनै बलियो बनेको छ ।

मियाको आगमनलाई एमाले नेता कार्यकर्ताले सहजरुपमा लिएको देखिन्छ । पूर्वएमाले भएकै कारण लोसपा त्यागेर एमाले आएका मियाको चुनावी प्रचारमा एमालेका नेताकायर्कता सक्रिय भएर लागेका छन् ।

विवादै विवादले पूर्वमन्त्री श्रेष्ठलाई सकस

बारा क्षेत्र नं. ४ मा उम्मेदवारी दर्ता गराएपछि पूर्वमन्त्री श्रेष्ठ पटक पटक विवादमा तानिएका छन् । उनले उम्मेदवारी दर्ता गराएकै दिन निर्वाचन आचारसंहिता विपरित बाजा बजाएर उम्मेदवारी दर्ता गराए । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका क्रममा बाजा रोक लगाएपनि उनले तनहुँ र सिमराको बाजा प्रयोग गर्दै उम्मेदवारी दर्ता गराएका थिए ।

उम्मेदवारी दर्ता पछि श्रेष्ठले म्यानपावरलाई प्रयोग गरेर बाराको परवानीपुरमा निर्वाचन आचारसंहिता विपरित चुनावी ब्यानरमुनी ‘फ्रि भिजा फ्रि टिकट’ भन्दै अन्तर्वार्ता राख्न लगाए । उनले मतदातालाई प्रभावित पार्ने गरी अन्तर्वार्ता राख्न लगाएपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थियो । श्रेष्ठले आयोगलाई स्पष्टीकरण बुझाईसकेका छन् ।

त्यसपछि उम्मेदवार श्रेष्ठले बाराको जीतपुरमा आयोजित एक सार्वजनिक बहस कार्यक्रममा मतदातालाई ‘सा.. भाडाका ट्टुहरु’ भन्ने शब्द प्रयोग गरे, जुन शब्दले उनि निकै आलोचित बन्न पुगे । सार्वजनिक कार्यक्रममा उनलाई राखिएको प्रश्न लगत्तै होहल्ला हुन थालेपछि उनले आक्रोशित हुदै उक्त शब्द प्रयोग गरेका थिए । मतदातालाई भाडाको टट्टु भन्दै गर्दा यस क्षेत्रको मतदाता नामावलीमा आफ्नो नाम समेत नरहेको कुरा उनले बिर्सिए ।

यसअघि श्रेष्ठमाथी बेलायतमा ७५ हजार पाउण्ड स्टर्लिङ (हालको दरअनुसार करिब ७७ लाख नेपाली रुपैया) ठगी गरेको आरोपमा अख्तियारमा उजुरी परेको छ । श्रेष्ठविरुद्ध अख्तियारमा सी–०१४९७२ नम्बरमा उजुरी दर्ता छ । अख्तियारले उक्त उजुरी माथी कारवाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

Related posts

नहरमा भ्रष्टाचार गरेकाे भन्दै नारायणी सिंचाइ वीरगन्जका कर्मचारीहरु विरुद्ध मुद्दा दायर

MadhesKhabar

धोबिनीका अध्यक्ष चौहानले वीरगन्जमा गोप्य रुपमा गाँउपरिषद गराएको जनप्रतिधिनीहरुको आरोप

MadhesKhabar

मातृत्व जोगाउने अभियान अन्तर्गत पाठेघरको मुखको क्यान्सरबारे निशुल्क शिविर गर्नेलाई मुख्यमन्त्रि सिँहले दिए धन्यवाद

MadhesKhabar

Leave a Comment