वीरगन्ज,०४साउनःपर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ सिद्धपुरमा पर्ने राष्ट्रिय वनको जग्गामा वन कार्यालयले नापजोख गरेर गाडेको किलाखुटा गाँउपालिकाका जनप्रतिनिधिले उखलेर फालिदिएका छन् ।
सिद्धपुर गाँउका भूमीहिन दलितहरुले वर्षौदेखि खनजोत गरेर उपभोग गर्दै आएको करिब ५ बिघा जग्गामा शनिबार वन कार्यालयको टोलीले नापजोख गरेर किलाखुटा गाडेको थियो ।त्यसबारे स्थानीय भूमीहिन दलितहरुले खबर गरेपछि आइतबार पुगेका गाँउपालिका अध्यक्ष यशवन्त यादव, वडाध्यक्ष वासुदेव महत्तो थारुसहितका जनप्रतिनिधिहरुले वन कार्यालयले गाडेको किलाखुटा उखलेर फालिदिएका हुन् ।
भूमीहिन दलितहरुले पुस्तौदेखि खनजोत गरेर खेतिपाती गर्दै आएको जग्गामा वन कार्यालयले जनप्रतिनिधीहरुसंग कुनै समन्वय र सल्लाह नै नगरेर किलाखुटा गाडेकाले आँफुहरुले उखलेर फालिदिएको गाँउपाालिका अध्यक्ष यादवले बताए । उनले भने,‘ सिद्धपुरमा झण्डै उराँँव जातिका दुई अढाई सय घरधुरी छ । त्यहाँ स्थानीयको एक धुरपनि जग्गा छैन । सबै सुकुम्बासी छन् ।
उनिहरुले पुस्तौं देखि गाँउ छेउको जग्गामा खेतिपाती गर्दै आफ्नो र बालबच्चाको पेट पाल्दै आएका छन् । त्यो तर वनको टोलीले उनिहरुको उठिबास नै लगाउने गरि जग्गामा किलाखुटा गाडेको खबर पाएपछि हामी त्यहाँ गयौं । सबै किलाकुटा उखलेर फालि दियौं ।’
गाँउपालिका अध्यक्ष यादवले भूमीहिन दलितहरुकको लागि अर्को व्यवस्था नभएसम्मका लागि उक्त जग्गामा छेडखानी नगर्न वन कार्यालयलाई चेतावनीसमेत दिए ।
अध्यक्ष यादवका अनुसार, दुई हप्ता पहिले वन कार्यालयका कर्मचारीसंग वनको जग्गा अतिक्रमणमुक्त गर्ने बारेमा भएको छलफलमा यादवले भूमीहिन दलितहरुका लागि अर्को व्यवस्थापन नभएसम्म जग्गामा किलाखुटा गाड्ने काम सुरु नगर्न भनेका थिए । तर आँफुहरुसंग कुनै समन्वय नै नगरी शनिबार अचानक वनको टोली आएर जग्गमा किलाखुटा गाडेर भूमीहिनमाथि अत्याचार गरेको यादवले बताए ।
सिद्धपुरकी स्थानीय दलित महिला सहंशा उरावले दुई पुस्तादेखि उपभोग गर्दै आएको जग्गामा वन कार्यालयको टोलीले किलाखुटा गाडेर आँफुहरुको उठिवास लगाउन खोजेको गुनासो गरिन् ।
यस्तै पूर्व गाविस अध्यक्ष लालदेव उरावलेपनि वन कार्यालयले जनविरोधी काम गरेको भन्दै आक्रोश पोखे । उनले भने,‘ पहिले भूमीहिन दलितहरुको लागि वैकिल्पिक व्यवस्था गरिनुपर्छ । अनिमात्र त्याो जग्गामा वन कार्यालयले आफ्नो काम सुरु गर्नुपर्छ । त्यो नभएसम्म हामी कुनैपनि हालतमा मान्दैनौं ।’
आइतबार किलाखुटा उखेल्न गएको टोलीमा गाँउपालिका अध्यक्ष यादव, वडाध्यक्ष थारु, पूर्व गाविस अध्यक्ष लालदेव उराव , कार्यपालिका सदस्य बाबुराम उराव लगायतपनि सहभागी थिए ।

