वीरगन्ज,२२असारःप्रमुख जिल्ला अधिकारी (सडिओ)गणेश अर्यालले नागरिकताको प्रमाणपत्र हातमा थमाइँ दिदाँ पुनिया देवीको अनुहार खुशीले एकाएक उजालियो । उमेरले पाँच दशक पुरा भइसक्दा पनि पुनिया देवीसंग आँफु नेपाली नागरिक भएको कुनै प्रमाण थिएन । नागरिकता बनाइदिन पटक पटक श्रीमानलाई भन्दा टेरेका थिएनन् । माइती भारत भएका कारण नागरिकताका लागि चाहिने कागजातहरु जुटाउन सकेकि थिइनन् ।
तर शनिबार दैलोमै आएर प्रमुख जिल्ला अधिकारी अर्यालले नागरिकताको प्रमाणपत्र थमाई दिएपछि खुशी हुदैं पुनिा देवीले भनिन्,‘ आज म धेरै खुशी छु । किनकि अब मपनि नेपाली भए ।’
पर्सा जिल्लाको सबैभन्दा दुर्गम ठाँउ भनेर चिनिने ठोरी गाँउपालिका वडा नम्बर ३ शिकारीवासमा शनिबार पुगेर प्रमुख जिल्ला अधिकारी अर्यालले पुनिया देवीसहित ८ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरे । शनिबार शिकारीवासमिा जिल्ला प्रशासन कार्यालय पर्साले आयोजना गरेको एकिकृत सेवा कार्यक्रममा विविध कारणले नागरिकताबाट बञ्चित उनिहरुलाई पुनियादेवीसंगै सोना देवी, सीता देवी,फुलमति कुमारी थारु,गुञ्जा थारु,राहुल चौधरी,विशाल चौधरी र सोनिया चौधरी नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरियो ।
लामो समयदेखि नागरिकताबाट बञ्चित रहेका उनिहरुलाई शनिबार उनिहरुको दैलोमै पुगेर नागरिकताको प्रमाणपत्र वितरण गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । केहिदिन पहिले जिल्ल प्रशासन कार्यालयबाट खटिएका कर्मचारीले नागरिकताका लागि आवश्यक कागजपत्रहरु संकलन गरेर जिल्ला प्रशासन कार्यालयमा गरेर ल्याएपछि आवश्यक प्रकृया पुरा गरेर शनिबार नागरिकताको प्रमाणत्र वितरण गरिएको उनले बताए ।
चितवन राष्ट्रिय निकुञ्जको बीच जंगलमा रहेको झण्डै १ सय ५० वर्ष पुरानो वस्ती शिकारीवासमा सडक,बिजुली,खानेपानी जस्ता आधारभूत सेवाहरु सरकारले अझैसम्मपनि पुरयाउन सकेको छैन । विशेषगरी आदीवासी थारु जातिका ७० घरधुरी रहेको शिकारीवासमा पुग्न वीरगन्ज–ठोरी हुलाकी सडकखण्डबाट जंगलको करिब पाँच किलो मिटर कच्ची बाटो पार गरेर पुग्नुपर्छ । वर्षाका बेला भने खोलामा बाढी आएका बेला सडकसम्पर्क नै विच्छेद हुन्छ ।

