Madhes Khabar
स्थानिय हेडलाइन

पत्रकारिताको जग बलियो बनाउन महानगर सहयोग गर्न तयार छ : मेयर सिंह

वीरगन्ज,६असारः वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पर्सेली पत्रकारिताको जग बलियो बनाउन महानगर जहिल्यै पनि सहयोग गर्न तयार रहेको बताएका छन् ।

वीरगन्ज महानगरपालिकाको सहयोगमा मधेश खबर मल्टिमिडिया प्रालिले आयोजना गरेको आम संचारकर्मीलाई क्षमता अभिवृद्धि विषयक तीन दिने तालिमको बिहीबार उद्घाटन गर्दै मेयर सिंहले पत्रकारहरुको क्षमताबृद्धिका लागि सहयोग गर्न आफूहरु जहिल्यै तयार रहेको बताए ।मर्यादित पत्रकारिता आजको आवश्यकता रहेको भन्दै उनले वीरगन्जको पहिचान बृद्धि गर्ने गरि समाचार सामग्री पस्कन पनि सबैसँग आग्रह गरे ।

कसैको व्यक्तिगत जीवनमा पसेर उसको चियो चर्चो गर्नुभन्दापनि समाज र सामाजिक समस्यालाई उठान गर्न पत्रकारहरु लागि पर्नु पर्नेमा पनि उनले जोड दिए। काम गर्दा त्रुटी भए सुधार गर्न आफू जहिल्यै पनि तयार रहेको भन्दै उनले गरेका काममा खोँचे थाप्नु भन्दा त्रुटी औंल्याएर सच्चिने बनाउन पत्रकारहरुले कलम चलाउनु उचित हुने बताए ।

उद्घाटन कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्र किशोर झाले अहिले राम्रा र मेहनती पत्रकारको खाँचो रहेको बताए ।संचारकर्मीको काम सही बाटो देखाउने रहेको भन्दै उनले कहिल्यै पनि विरोधी जसरी प्रस्तुत हुन नहुने बताए। उनले भने , ‘संचारकर्मीको काम बाटो देखाउने हो, विरोधीको रुपमा प्रस्तुत हुने होइन, बरु समालोचक बन्ने हो ।’

उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि महानगरले गरेको सहयोगको प्रशंसा गरे ।वीरगन्ज महानगरपालिकाको आम संचार प्रवद्र्धन समितिका संयोजक ध्रुब अधिकारीले पर्सेली पत्रकारितालाई मजबुत बनाउन महानगरपालिकाले ठूलो लगानी गरिरहेको बताए । पत्रकारको क्षमता अभिबृद्धि, ज्येष्ठ पत्रकार पेन्सन योजना, पत्रकार विपत्त कोष, लोककल्याणकारी विज्ञापन वितरण तथा अन्य विभिन्न कार्यक्रम संचालन गरेर यहाँका पत्रकारहरुलाई मजबुत बनाउने काम महानगरले गरिरहेको उनले बताए ।

मधेस खबरका अध्यक्ष क्रान्ति साहको अध्यक्षता तथा वीरगन्जका मेयर सिंहको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रमको संचालन श्याम सर्राफले गरेका थिए भने मधेस खबरकी सम्पादक माधुरी महतोले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । तालिममा पर्साका विभिन्न सन्चारमाध्यममा कार्यरत ३५ जना पत्रकारहरुको सहभागिता रहेको छ ।

Related posts

ठोरी नाकामा चेकजाँचको बहानामा भारतीय पर्यटकलाई हैरान नपार्न सुरक्षाकर्मीलाई सुझाव

MadhesKhabar

वीरगन्जको विकासका लागि महानगरले थालेको अभियानमा साथ दिने राजनीतिक दलहरुको प्रतिबद्धता

MadhesKhabar

पर्साकी उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध हुने पक्का

MadhesKhabar

Leave a Comment