वीरगन्ज,१२चैत:वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्थगित स्ववियु निर्वाचनको मतगणना भाेलि (बुधबार)दिउँसो १ बजेदेखि सुचारू हुने भएको छ।मंगलबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा जिल्ला सुरक्षा समितिकाे आयाेजनामा बसेकाे विद्यार्थी संगठन/समुहका नेता र उम्मेदवारसहितकाे बैठकले मतगणना बुधबार दिउँसो १ बजेदेखि सुचारू गर्ने निर्णय गरेकाे प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।
मंगलबारकाे बैठकले अवरुद्ध मतगणना बुधबार दिउँसो १ बजेदेखि सुचारु गर्नका लागि जिल्ला सुरक्षा समितिले क्याम्पस प्रशासन र निर्वाचन समितिलाई पत्र लेख्ने निर्णय गरेकाे प्रजिअ अर्यालले बताए ।यसका साथै बैठकले असन्तुष्ट विद्यार्थी संगठन/समुहले आराेप लगाएकाे फर्जि विद्यार्थी भर्ना,मतपेटिकाकाे सिल नम्बर फरक भेटिएको लगायतका विषयमा छानबिन र कारबाहीका लागि सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीकाे संयाेजकत्वमा ५ सदस्यीय छानबिन समिति गठनपनि गरिएको छ।उक्त समितिमा पर्साका प्रहरी नायब उपरीक्षक किशाेर लम्सालका साथै विद्यार्थी संगठन/समुहबाटपनि दुई जना सदस्य रहने प्रजिअ अर्यालले बताए ।
मंगलबारकाे बैठकमा प्रजिअ अर्यालसंगै,प्रहरी उपरीक्षक गाैतम मिश्र,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,नेविसंघ पर्साका सभापति रमेश यादव,केन्द्रीय सदस्य विकेश पटेल,अखिल क्रान्तिकारीका उम्मेद्वार मनिष पटेल,समाजवादी विद्यार्थी युनियनका उम्मेद्वार हरिकिशाेर यादव,नेविसंघका उम्मेदवार विकास मण्डल,सुधिर पटेल समुहका नेता सुधिर पटेल लगायतकाकाे सहभागिता थियाे।
यसअघि साेमबार जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी अर्यालकाे पहलमा बसेको सर्वदलीय बैठकमा सम्पूर्ण राजनीतिक दलका नेताहरुले ठाकुरराम क्याम्पसमा रोकिएको मतगणना सुचारू हुनुपर्नेमा सहमति जनाएका थिए ।
ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचनको मतदान भएको एक हप्ता बित्दापनि चुनावको मतपरिणाम आउन सकेको छैन ।
ठाकुरराम क्याम्पसमा १६ बर्षपछि गत मंगलबार स्ववियु निर्वाचन भएको थियो । मंगलबार मतदानपछि बुधबार साँझदेखि मतगणना सुरु पनि भयो ।तर मतगणना चलिरहदाँ एउटा मतपेटिकाको सिल नम्बर मुचुल्का उठाँउदा लगाइएको सिल नम्बर भन्दा फरक परेपछि विवाद भई बिहीबार दिउँसोदेखि मतगणना अवरुद्ध छ । अवरुद्ध मतगणना अहिलेसम्मपनि सुचारु नुहदाँ गत मंगलबार चैत ५ मा भएको निर्वाचनको नतिजा आउन नसकेको हो ।
गत बिहीबार दिउँसो मतगणना अवरुद्ध हुनु अघि करिब १ हजार ४ सय मत गनिसक्दा निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार, सभापति पदमा नेविसंघबाट विद्रोह गरेर नेपाल विद्यार्थी समुह नामबाट उम्मेदवार बनेका राज कुमार यादव ४ सय २० मतका साथ अग्रस्थानमा थिए । यस्तै नेविसंघका उम्मेदवार विकास मण्डल धानुक २६१ मतका साथ दोस्रो,समाजवादी विद्यार्थी युनियनका हरिकिशोर यादवले २२१ म्तका साथ तेस्रो , सुधिर पटेल समुहका उम्मेदवार कमलेश यादवले २०४ मतका साथ चौथो र अनेरास्ववियुका पवन यादव १५० मतका साथ पाँचौ स्थानमा थिए ।
मतपेटिकाको सिल नम्बर फरक परेपछि समाजवादी विद्यार्थी युनियन,अनेरास्ववियु, अखिल क्रान्तिकारी,स्वतन्त्र विद्यार्थी समुह,जय नेपाल विद्यार्थी संघ लगायतका १० संगठनले विरोध प्रदर्शन गर्नथालेपछि बिहीबार राति निर्वाचन समितिले अर्को सूचना जारी नभएसम्मका लागि मतगणना स्थगीत गरेको थियो ।
असन्तुष्ट १० विद्यार्थी संगठनहरुले मतदानमा फर्जि मत खसालिएको , गणनामापनि धाँधली गरिएको , मतपेटिकाकै सिल नम्बर फरक भेटिएकोले चैत ५ मा भएको निर्वाचन रद्ध गरेर पुन अर्को निर्वाचन गराउनुपर्ने माग गर्दै आएका छन् । उनिहरुले शुक्रबारदेखि वीरगन्जमा विरोध जुलुशपनि प्रदर्शन गर्दै आएका छन् ।
यता नेपाल विद्यार्थी समुह,नेविसंघ लगायतकाा संगठनहरुलेपनि स्थगीत मतगणना सुचारु हुनुपर्ने माग राखेर प्रदर्शन गर्दै आइरहेका छन् ।
स्थगीत मतगणना सुचारु गराउनका लागि भन्दै गत शुक्रबार पनि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पहलमा जिल्लाका सुरक्षा निकायका प्रमुख, क्याम्पस प्रशासन र विद्यार्थी संगठनका उम्मेदवारहरुबीच छलफलपनि भएकाे थियो । तर उक्त छलफलपनि निष्कर्षविहिन बन्न पुगेकाे थियाे ।

