काठमाडौं,१८असार:एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’ मा रहेकाे नेपालले लगातार दोस्रो फराकिलो जित हात पारेको छ ।
बुधबार तास्केन्दस्थित मिली रंगशालामा भएको खेलमा नेपालले श्रीलंकामाथि ८–० को सानदार जित निकालेको हो ।
खेलको पहिलो हाफमै चार गोल गरेको नेपालले दोस्रो हाफमा थप चार गोल गर्दै प्रतिस्पर्धामा एकतर्फी वर्चस्व देखायो ।
कप्तान सावित्रा भण्डारी साम्बाले व्यक्तिगत ह्याट्रिकसहित टिमको जितमा मुख्य भूमिका निभाइन् । गीता रानाले दुई गोल जोडिन् । त्यस्तै, निशा थोकर, रेखा पौडेल र पुजा रानाले समान एक/एक गोल गरे ।
दुई खेलमा जम्मा १७ गोल गर्दै गोलअन्तरमा समेत बलियो उपस्थिति बनाएको नेपाल अब समूह विजेता बन्ने सम्भावनासहित अन्तिम खेलतर्फ अग्रसर भएको छ ।
जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । नेपालले पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो । श्रीलंका भने दोस्रो खेलमा पनि पराजित भयाे।श्रीलंका पहिलो खेलमा उज्बेकिस्तानसँग १०–० ले पराजित भएको थियो ।