सिमरा,३१जेष्ठ: नव जनजागृति युवा क्लब सिमराले बारा जिल्ला फूटबल लिगको उपाधी उचालेको छ । कोल्हबीको मठवा मैदानमा बिहीबार भएको फाइनल खेलमा निजगढ युथ क्लबलाई सडन डेथमा पराजित गर्दै नव जनजागृति युवा क्लब बारा जिल्ला ‘च्याम्पियन’ बनेको हो ।
प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समयमा गोल दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा समेत ३–३ को बराबरी भएपछि नव जनजागृतिले सडन डेथमा जित निकालेको हो ।
उपाधीसंगै नव जनजागृतिले नगद ५० हजार र उपविजेता निजगढले नगद २५ हजार नगद प्राप्त गरेको छ ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नव जनजागृतिका कौशुव श्रेष्ठ घोषित भए । यसैगरी प्रतियोगिताको सर्वाधिक गोलकर्ता नव जनजागृतिका अन्जन बछार र उत्कृष्ट गोलरक्षक निजगढका जयाराम चौधरी घोषित भए ।
उपाधी विजेता तथा उपविजेता टिम र खेलाडीलाई अखिल नेपाल फूटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा, कोल्हबी नगरपालिकाका मेयर रामप्रसाद चौधरी, मधेस प्रदेश फूटबल संघका अध्यक्ष नेपाल कार्की, बारा जिल्ला फूटबल संघका अध्यक्ष रामचन्द्र लामालगायतले पुरस्कार वितरण गरेका थिए ।
बारा जिल्ला फूटबल संघको आयोजना र जनशक्ति युवा क्लबको व्यवस्थापनमा जेष्ठ १९ गतेदेखि सुरु भएको प्रतियोगितामा बाराको ए डिभिजनका १२ क्लबको सहभागिता रहेको थियो । एन्फाको कार्यक्रम अन्तर्गत आयोजना हुने जिल्ला लिग यसपटक चार वर्षपछि भएको हो ।
जिल्ला लिग विजेता नव जनजागृति क्लबले अब प्रदेश लिगमा सहभागिता जनाउनेछ ।साभार:इशीलालेख

