Madhes Khabar
खेलकुद

एभरेस्ट महिला भलिबल लिगमा मधेसकाे पहिचान बढाउने मधेस युनाइटेडको लक्ष्य

वीरगन्ज, ३० साउन:वात्सालय एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणबारे शुक्रबार नेपाल–भारत सीमा क्षेत्रमा अवस्थित नेपालको प्रमुख प्रवेशद्वार वीरगन्जको शंकराचार्य गेटमा पत्रकार सम्मेलन गरिएको छ।

पत्रकार सम्मेलनमा मधेस युनाइटेडका सञ्चालक सञ्जय अग्रवालले मधेस युनाइटेड एभरेस्ट महिला भलिबल लिगको फ्रेन्चाइज टिम भएको उल्लेख गर्दै भने, “यो टिम केवल खेलका लागि मात्र होइन, मधेसको पहिचान बढाउने, महिला खेलाडीलाई प्रोत्साहन दिने र राष्ट्रियस्तरमा मधेसको प्रतिनिधित्व गर्ने उद्देश्यका साथ स्थापना भएको हो।”

मधेस युनाइटेडकी ब्रान्ड एम्बेसडर नीति शाहले टिमसँग आबद्ध हुन पाउँदा गर्व महसुस भएको बताइन्। उनले भनिन्, “मधेस युनाइटेड केवल खेलकुद टिम मात्र होइन, महिला सशक्तीकरणको एउटा प्रेरणादायी उदाहरण हो। यस टिमको यात्रामा सहभागी हुन पाउनु मेरो लागि विशेष अवसर हो।”

मार्की प्लेयर निरुता ठगुन्नाले पनि नयाँ जोश र आत्मविश्वासका साथ उत्कृष्ट प्रदर्शन गर्ने प्रतिवद्धता जनाउँदै भनिन्, “विगतको अनुभव र पहिलेका कमीकमजोरीलाई सुधार्दै यसपटक हामी उत्कृष्ट खेल प्रदर्शन गर्नेछौं र ट्रफी मधेसमै ल्याउनेछौं।”

सञ्चालक शर्मिला थापाले मधेस युनाइटेडलाई “मधेसको शान” भन्दै, यस टिमले मधेसका महिलालाई खेलमा आकर्षित गर्ने, उनीहरूलाई सशक्त र आत्मनिर्भर बनाउन योगदान दिने विश्वास व्यक्त गरिन्।

ट्रफीसहित आयाेजित पत्रकार सम्मेलनमा मधेस युनाइटेडका सञ्चालकहरु विशाल अग्रवाल, रोहित अग्रवाल, दिपेश अग्रवाल र अनोज़ रुंगटा लगायतको उपस्थिति थियो।

मधेस युनाइटेडकी सञ्चालन प्रमुख खुशी शिवाकोटीका अनुसार, वत्सालय एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण आगामी भदौ २३ देखि २८ गतेसम्म पोखरामा आयोजना हुनेछ।

Related posts

आईपीएलमा आज चेन्नई र गुजरात भिड्दै

MadhesKhabar

न्युजिल्यान्डलाई हराउँदै भारत विश्वकप क्रिकेटको फाइनलमा

MadhesKhabar

क्यानको सूचीमा नपरेका ९ खेलाडीसंग मधेस प्रदेशले गर्‍यो सम्झौता

MadhesKhabar

Leave a Comment