वीरगन्ज,९असार: मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगन्जको ड्राइपोर्टदेखि परवानीपुरसम्मको सडकखण्डमा रहेकाे सवारी कर उठाउने ढाटमा छड्के अनुगमन गरेका छन्।साेमबार छड्के अनुगमन गर्ने क्रममा सिंहले अवैध रूपमा सवारी कर असुली गर्ने तीन जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्।भारतबाट भित्रिने मालवाहक भारतीय सवारीसाधनबाट ढाटमा खटिएका ठेकेदारका कर्मचारीले तोकिएको भन्दा बढी रकम असुली भइरहेको गुनासो बढेपछि साेमबार मुख्यमन्त्री सिंह आँफैले छड्के अनुगमन गरेका हुन्।
ड्राइपोर्टदेखि परवानीपुरसम्मको व्यपारिक राजमार्गका विभिन्न स्थानमा राखिएका अस्थायी ढाट (टोल नाका) मा अवैध असुली भइरहेको पाइएपछि मुख्यमन्त्री सिंहले ढाटबाटै तीन जनालाई रंगेहात नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।पक्राउ परेकाहरूकाे नाम भने प्रहरीले खुलाएकाे छैन।
मुख्यमन्त्री सिंहले भने,`जनताको गुनासो सुनिन्थ्यो, आज प्रत्यक्ष देखियो ।ढाटमा अवैध असुली, बलजफ्ती कर र सीमापार सवारीसाधनमाथिको दुर्व्यवहार अब सह्य हुँदैन।”

