Madhes Khabar
स्थानिय हेडलाइन

पर्सामा सडक निर्माणमा ठेकेदारको लापरवाहीले दिनहुँ भइरहेको छ सवारी दुर्घटना

प्रमोद यादव
पर्सा,२९असोजःपर्साको सखुवा प्रसौनी गाँउपालिकाका विभिन्न स्थानका कच्ची सडक कालोपत्रे(पिच) गर्नका लागि ठेक्का लिएका ठेकेदारहरुको लापरवाहीका कारण सवारी दुर्घटना बढेको छ ।

सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर २ श्रीपुर पचगावादेखि सखुवा प्रसौनी गाँउसम्म पुग्ने कच्ची सडकमै ठेकेदारले निर्माण सामग्री (गिट्टी,बालुवा) थुपारेर त्यसै राखिदिएका कारण उक्त सडकमा दिनहुँ सवारी दुर्घटना भइरहेको छ । मंगलबार मात्रै उक्त सडकमा ठेकेदारले बिचसडकमै थुपारेको गिट्टीको ढिस्कोमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुदाँ बहुदरमाई नगरपालिका वडा नम्बर ४ का पूर्व वडाध्यक्ष रामरेखा सिंह घाइते भएका छन् ।

श्रीपुर पचगावादेखि सखुवा प्रसौनी गाँउसम्म पुग्ने करिब १५ सय मिटर लम्बाईको उक्त सडक कालोपत्रे गर्नका लागि अनिल निर्माण सेवा मिर्जापुरले ८६ लाख रुपैयाँमा ठेक्का सकारेको छ । कालोपत्रे गर्नका लागि ठेकेदारले सडकमै गिट्टी–बालुवा थुपारेर काम रोकेका कारण उक्त सडकमा आउजाउ गर्ने खासगरी मोटरसाइकल दुर्घटनामा पर्दै आएको स्थानीयबासीको गुनासो छ । यस्तै गिट्टी–बालुवाको ढिस्कोका कारण चार पाङ्ग्रे सवारी साधनहरुलाई पनि समस्या भइरहेको चालकहरुले बताएका छन् ।

यसबारेमा जानकारी लिदाँ अनिल निर्माण सेवा मिर्जाजुरका सञ्चालक मनोज कुमारले चाडबाडका कारण कामदार नपाएर १० दिनदेखि काम रोकिएको बताए । उनले बिचसडकमा थपारेर राखिएका निर्माण सामग्रीहरु अब छिट्टै ग्रेडर लगाएर सम्याइने बताए । आगामी कात्तिक मसान्तभित्रै सडक कालोपत्रे गरेर गाँउपालिकालाई हस्तान्तरण गरिनेपनि उनले बताए ।

यस्तै सखुवा प्रसौनी गाँउपालिकाकै वडा नम्बर ४ मा पर्ने करबोलादेखि श्रीपुर पचगावासम्मको कच्ची सडक कालोपत्रे गर्न ठेक्का लिएको ठेकेदारलेपनि बिचसडकमै निर्माण सामग्री थुपारेर काम अलपत्र छाडेका छन् । उक्त सडक कालोपत्रेका लागि ओमसाई निर्माण सेवाले १ करोड ४७ लाख रुपैयाँमा ठेक्का लिएको छ ।

उक्त सडकमापनि ठेकेदारले बिच सडकमै निर्माण सामग्री थुपारेर अलपत्र छाडेका कारण दिनहुँ सवारी दुर्घटना भइरहेको स्थानीयले बताएका छन् । ओम साई निर्माण सेवाका सञ्चालक सन्नी यादवले भने चाडपर्वमा केहिदिन काम रोकिएको बताए । अब एक दुई दिनमै फेरि काम सुचारु हुने भन्दै उनले एक महिनाभित्रै कालोपत्रेको काम सकेर सडक गाँउपालिकालाई हस्तान्तरण गरिदिने उनले मधेसखबरलाई बताए ।

 

 

Related posts

सिमेन्ट उधोगीहरुको जायज मागलाई सम्बोधन गर्छु : वन मन्त्री यादव

MadhesKhabar

बारामा मोटरसाइकल पुल मुनि खस्दा दुई जनाको मृत्युु

MadhesKhabar

सरकारी विद्यालयकाे बेथिती : जब वडाध्यक्ष घन्टी बजाएर पढाउन कक्षामा छिरे

MadhesKhabar

Leave a Comment