वीरगन्ज,१असारःवीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जमा पर्यटकीय सम्भावना बोकेका अनेकन सम्पदाहरु रहेपनि सरकारको नजर नपरेकोमा गुनासो व्यक्त गरेका छन् ।
वीरगन्जमा शनिबार नेपाल पर्यटन बोर्डले आयोजना गरेको ‘मधेस टुरिज्म मिट–२०२५’ लाई प्रमुुख अतिथिीका रुपमा सम्बोधन गर्दै मेयर सिंहले उक्त गुनासो गरेका हुन् । मेयर सिंहले वीरगन्ज र यस आसपासका क्षेत्रमा धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरु प्रशस्तै रहेको भएपनि त्यसमा सरकार र पर्यटन बोर्डको नजर अझैसम्म पर्न नसेको गुनासो गरे ।
उनले भने,‘१ सय ३७ वर्ष पुरानो नेपालको एक मात्र नृसिंह भगवानको मन्दिर वीरगन्जमा छ । काठमाडौंको चौमुखी शीवलंग जस्तै वीरगन्जमा ऐतिहासिक पशुपतिनाथ मन्दिर छ । वन्यजन्तु सफारीको उपयुक्त गन्तव्य पर्सा राष्ट्रिय निकुञ्जपनि छ । तर यस्ता महत्वपूर्ण धार्मिक एंव पर्यटकीय सम्पदाहरुमाथि पनि पर्यटन बोर्डको नजर अझै पर्न सकेको छैन ।’
पर्यटन बोर्डको नजर र चासो केवल काठमाडौं, पोखरा र चितवनमा मात्रै सीमित रहेको उनले बताए । मधेस प्रदेशमा पर्यटकीय सम्भावना बोकेका क्षेत्र गन्तव्यहरु रहेको र त्यहााँ भारतीयसहित विदेशी पर्यटकलाई आकर्षण गर्न सकेको खण्डमा प्रदेशकै पर्यटन व्यावसायले फड्को मार्ने उनले बताए।
सरकार र पर्यटन बोर्डको नजर नपरेपनि वीरगन्न्ज महानगरपालिकाले यहाँ रहेका धार्मिक एंव पर्यटकीय सम्पदाहरुको जगेर्ना गरेर आफ्नो साधनश्रोतले भ्याएसम्म प्रचार प्रसार गरिरहेको जानकारी उनले गराए । कार्यक्रममा उनले वीरगन्ज महानगरपालिकाले तयार पारेको ‘मुकाम ’ किताब मार्फत वीरगन्जसहित पर्सा, बारा र रौतहट जिल्लाका धार्मिक, पौराणिक र ऐतिहासिक स्थलहरूबारे जानकारी गराए ।
कार्यक्रममा पर्साकै ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरी मधेस प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्र भएपनि संघ र प्रदेश सरकारले लगानी नगर्दा ओझेलमा परेको गुनासो गरे ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले मधेसमा पर्यटकीय सम्भावना बढी भएकाले सबैले हातेमालो गरेर पर्यटन प्रवद्र्धनमा जुट्नुपर्ने बताए ।नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले मधेस प्रदेशलाई भारतीय पर्यटकको गन्तव्यका रूपमा विस्तार गर्न आवश्यक रहेकोमा जोड दिए ।
टुरिजम एसोसिएसन बिहार भारतका अध्यक्ष एसके शर्माले नेपाल र भारतबीच ऐतिहासिक र धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकाले दुवै मुलुकले एकापसमा समन्वय गरेर पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताए ।

