
वीरगन्ज,२६जेठःवीरगन्ज नाकाबाट तेस्रो मुलुक तर्फ छुर्पीको निर्यात उत्साहजनक रूपमा बढेको छ । नेपाली छुर्पीले केही वर्षयता युरोप तथा अमेरिकामा बजार लिन थालेको हो । विशेषगरी अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत मुलुकमा नेपाली छुर्पीको माग बढेको छ ।
वीरगन्ज भन्सार कार्यकालको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म १० महिनामा वीरगन्ज नाकाबाट ८८ करोड रुपैयाँ बराबरको ४ लाख ९५ हजार ६ सय ८६ किलो छुर्पी निकासी भएको छ । गत आर्थिक वर्षको यो अवधिमा ५३ करोड बराबरको २ लाख ९४ हजार २ सय १५ किलो छुर्पी निकासी भएको थियो ।
तेस्रो मुलुकका घरपालुवा कुकुर, बिरालोले नेपाली छुर्पीको स्वाद रुचाएपछि नेपाली छुर्पीको माग बढ्दै गएको हो । भन्सार बिन्दुबाट यो बस्तु ‘कुकुर वा बिरालोको खाना’ शीर्षकमा निकासी हुन्छ । निकासीको बढ्दो दरले नेपाली छुर्पीको अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न सके यसले थप बजार पाउने सम्भावना बढी छ ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारी यस वर्ष तुलनात्मक रूपमा वीरगन्ज नाकाबाट छुर्पीको निकासी बढेको बताउँछन् । कुकुर, बिरालो पालकले नेपाली छुर्पीलाई मासुको विकल्पको रूपमा प्रयोग गरिरहेको उनले बताए ।
चौपायाको हड्डी भन्दा छुर्पी नरम हुने र कुकुर, बिरालोले स्वादिलो मानेर खाएपछि नेपाली छुर्पीको माग तेस्रो मुलुकमा बढ्दै गएको उनले बताए । नेपालमा विशेषगरी इलाम, ताप्लेजुङ, संखुवासभा, धनकुटालगायत जिल्लामा उत्पादित छुर्पी वीरगन्ज नाकाबाट निकासी हुने गरेको उनले बताए ।
इलाममा छुर्पी उद्योग नै सञ्चालनमा रहेकाले त्यहाँ छुर्पीको बढी उत्पादन हुने गरेको छ । छुर्पी निकासी गर्दा भन्सार शुल्क लाग्दैन । निकासीको प्रत्येक प्रज्ञापनपत्रको १ सय १३ रुपैयाँ शुल्क मात्र लाग्ने तिवारीले बताए ।शंकर आचार्य/इकान्तिपुर