Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज नाकाबाट १० महिनामा ८८ करोडको छुर्पी युरोप र अमेरिकामा निर्यात

फाइल तस्बिर ।

वीरगन्ज,२६जेठःवीरगन्ज नाकाबाट तेस्रो मुलुक तर्फ छुर्पीको निर्यात उत्साहजनक रूपमा बढेको छ । नेपाली छुर्पीले केही वर्षयता युरोप तथा अमेरिकामा बजार लिन थालेको हो । विशेषगरी अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत मुलुकमा नेपाली छुर्पीको माग बढेको छ ।

वीरगन्ज भन्सार कार्यकालको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म १० महिनामा वीरगन्ज नाकाबाट ८८ करोड रुपैयाँ बराबरको ४ लाख ९५ हजार ६ सय ८६ किलो छुर्पी निकासी भएको छ । गत आर्थिक वर्षको यो अवधिमा ५३ करोड बराबरको २ लाख ९४ हजार २ सय १५ किलो छुर्पी निकासी भएको थियो ।

तेस्रो मुलुकका घरपालुवा कुकुर, बिरालोले नेपाली छुर्पीको स्वाद रुचाएपछि नेपाली छुर्पीको माग बढ्दै गएको हो । भन्सार बिन्दुबाट यो बस्तु ‘कुकुर वा बिरालोको खाना’ शीर्षकमा निकासी हुन्छ । निकासीको बढ्दो दरले नेपाली छुर्पीको अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न सके यसले थप बजार पाउने सम्भावना बढी छ ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारी यस वर्ष तुलनात्मक रूपमा वीरगन्ज नाकाबाट छुर्पीको निकासी बढेको बताउँछन् । कुकुर, बिरालो पालकले नेपाली छुर्पीलाई मासुको विकल्पको रूपमा प्रयोग गरिरहेको उनले बताए ।

चौपायाको हड्डी भन्दा छुर्पी नरम हुने र कुकुर, बिरालोले स्वादिलो मानेर खाएपछि नेपाली छुर्पीको माग तेस्रो मुलुकमा बढ्दै गएको उनले बताए । नेपालमा विशेषगरी इलाम, ताप्लेजुङ, संखुवासभा, धनकुटालगायत जिल्लामा उत्पादित छुर्पी वीरगन्ज नाकाबाट निकासी हुने गरेको उनले बताए ।

इलाममा छुर्पी उद्योग नै सञ्चालनमा रहेकाले त्यहाँ छुर्पीको बढी उत्पादन हुने गरेको छ । छुर्पी निकासी गर्दा भन्सार शुल्क लाग्दैन । निकासीको प्रत्येक प्रज्ञापनपत्रको १ सय १३ रुपैयाँ शुल्क मात्र लाग्ने तिवारीले बताए ।शंकर आचार्य/इकान्तिपुर

Related posts

वीरगन्जमा राष्ट्रपति विरुद्ध जसपाको प्रदर्शनः सडकमा टायर बालेर नाराबाजी

MadhesKhabar

वीरगन्जको पशुपति मन्दिरलाइ धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने मन्त्री शर्माको प्रतिबद्धता

MadhesKhabar

नेपाल–भारत बिचको व्यपारमा सरकारले सहजीकरण नगरेको नीजी क्षेत्रको गुनासो

MadhesKhabar

Leave a Comment