वीरगन्ज,१५जेठ:संघीय सरकारले सार्वजनिक आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेकाे नयाँ बजेटमा वीरगन्जको नारायणी रंगशाला फेरि उपेक्षामा परेपछि वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले सार्वजनिक रुपमै आक्राेश व्यक्त गरेका छन्।
नयाँ बजेटमा काठमाडौंकाे मुलपानी, कीर्तिपुर, मोरङ, कैलाली, रुपन्देही, झापा र सुर्खेत लगायतका स्थानका रंगशालाका लागि उल्लेखनीय रकम छुट्याइएकाे छ।तर दशरथ रंगशालापछिकाे दाेस्राे ठूलाे वीरगन्जको नारायणी रंगशाला भने फेरि उपेक्षामा परेपछि मेयर सिंहले सामाजिक सञ्जालमार्फत सरकारप्रति आक्राेश पाेखेका छन्।
मेयर सिंहले लेखेका छन्,`थुइक्क! बजेटमा देशका हरेक ठाउँका रंगशाला अटाउँछन्, तर वीरगन्जको रंगशाला अटाउँदैन? हाम्रा सपना बारम्बार बजेटबाहिर राखिन्छन्। खेलकुदका नाममा समिति बनाउने, फोटो खिचाउने तर काम शून्य!”
उनले संघीय र मधेस प्रदेश दुवै सरकारलाई झूठो आशा नदेखाउन चेतावनीपनि दिएका छन्।उनले भनेका छन्,`यदि साँच्चै सम्भव छैन भने– हामीलाई जिम्मा देउ, हामी आफैं रंगशाला बनाउँछौं, वीरगन्जको गौरव हामी आफैं जोगाउँछौं।”
मेयर सिंहले नारायणी रंगशालाको ऐतिहासिकता, सम्भावना र वर्तमान दयनीय अवस्थाको उल्लेख गर्दै संघ सरकारले बारम्बार उपेक्षा गर्नु अन्यायपूर्ण र अपमानजनक रहेको टिप्पणी गरेका छन्।उनले भनेका छन्,`वीरगन्ज उपेक्षाकाे हाेइन,सम्मानकाे हकदार छ।´
काठमाडौंको दशरथ रंगशालापछिको ठूलो वीरगन्जको नारायणी रंगशाला जीर्णोद्धारको पर्खाइमा बसेको दशकौं बितिसकेकाे छ । २०४२ सालमा निर्माण भएको नारायणी रंगशालालाई तीनै तहका सरकारले प्राथमिकतामा राखेका छैनन् । रंगशालाको मैदान र प्यारापिट कामै नलाग्ने भएकाे छ।
तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पहलमा २०३८ सालमा १७ बिघा १० कट्ठा जग्गा फुटबल, क्रिकेट र कवर्ड हल निर्माणका लागि खरिद र अधिग्रहण गरिएको थियो ।चार दशकअघि निर्माण भएको नारायणी रंगशालामा तत्कालीन राजा वीरेन्द्र शाहले उद्घाटन मात्र गरेनन् तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितासमेत गराएका थिए । तर विस्तारै रंगशालाको मर्मत सम्भारमा न कुनै सरकारले चासो दिए न त कुनै ठूला प्रतियोगिता नै भए ।
नारायणी रंगशालाको दर्शक बस्ने प्यारापिट भत्किएको छ । अन्य संरचना चोरी भएका छन् ।


