
वीरगन्ज,२५पुसःवीरगन्जमा जारी जय ट्रफी मेन्स एलिट कप क्रिकेटको आफ्नो दोश्रो खेलमा नेपाल पुलिस क्लबले मधेस प्रदेशलाई फराकिलो अन्तरले हराएको छ ।वीरगन्जस्थित नारायणी क्रिकेट रंगशालामा बिहीबार सम्पन्न खेलमा पुलिसले मधेसलाई एक इनिङ्स र ३५ रनले पराजित गरेको हो ।
दोस्रो खेलको दोस्रो इनिङ्समा मधेस ३२ ओभर २ बलमा ९४ रनमै अलआउट भएपछि पुलिसले फराकिलो जीत हात पारेको हो । पुलिसविरुद्धको दोस्रो इनिङ्समा मधेसको ब्याटिङ लाइनअप निरिह बन्न पुग्यो ।
मधेसका लागि विशाल पटेल, मयन यादव र हिमांशु दत्तले बाहेक अन्य खेलाडीले दोहोरो संख्यामा रन बनाउन सकेनन् । मधेशको लाइनअप ध्वस्त पार्ने क्रममा पुलिसका बलर कुशल भुर्तेल एक्लैले पाँच विकेट लिए । यो संगै भुर्तेल जारी प्रतियोगितामा एउटै इनिङमा पाँच विकेट लिने पाँचौ खेलाडी बनेका छन् । यसैगरी गुलशन झाले तीन र ललित राजवंशीले दुई विकेट लिए ।
टस हारेर बुधबार बिहान ब्याटिङ सुरु गरेको मधेसले पहिलो इनिङ्समा ४२.४ ओभरमा अलआउट हुदैं एक सय २९ रन बनाएको थियो । मधेसलाई कम स्कोरमा रोक्दै पहिलो इनिङ्सको ब्याटिङ गर्न आएको पुलिसले चार विकेटको क्षतिमा दुई सय ५८ रन बनाएर विहीबार बिहान पालि समाप्तिको घोषणा गरेको थियो । मधेसविरुद्ध बलियो योगफल तयार पार्ने क्रममा पुलिसका कुशल भुर्तेलले ६३ रन बनाए ।
पुलिसले पहिलो इनिङ्स समाप्तिको घोषणा गर्दा मधेस ९९ रनले पछि परेको थियो ।बिहीबार पुलिसविरुद्ध दोस्रो इनिङ्स सुरु गरेको मधेस ९४ रनमै समेटिएपछि पुलिसले एक इनिङ्ससहित ३५ रनले जीत हात पारेको हो । पुलिसका लागि कुशल भुर्तेल प्लेयर अफ दि म्याच घोषित भए ।
जीतसंगै दुई खेल खेलेको पुलिस ४० अंकसहित तालिकाको शिर्ष स्थानमा छ । यसअघि पुलिस र नेपाल आर्मी क्लबबीच भएको पहिलो खेल भने बराबरीमा सकिएको थियो ।

