Madhes Khabar
शिक्षा हेडलाइन

अङ्ग्रेजी माध्यममा पढाइ हुने वीरगन्जका सरकारी विद्यालयहरुमा विद्यार्थीको आकर्षण

वीरगन्ज,९जेठःपर्सा जिल्लामा नयाँ शैक्षिक सत्र२०८२ का लागि विद्यार्थी भर्ना अभियान सकिएको छ । वैशाख २ गतेदेखि शुरू गर्ने भनिएको विद्यार्थी भर्ना अभियान नेपाल शिक्षक महासंघको काठमाडौं केन्द्रित करिब ९० दिनको आन्दोलनका कारण निर्धारित समयमा शुरू हुन सकेको थिएन । आन्दोलन सकिएपछि वैशाख १४ गतेदेखि शिक्षकहरू विद्यार्थी भर्ना अभियानमा सक्रिय भएका थिए ।

पछिल्लो कार्यसूची अन्तर्गत जेठ ७ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन भएको शिक्षा विकास समन्वय इकाइ कार्यालय पर्साका प्रमुख हरि राउतले बताए । उनले पर्सा जिल्लामा ३६७ वटा सामुदायिक विद्यालय रहेको र भर्ना अभियान सम्पन्न भएपछि सबैको तथ्यांक आइनसकेको र केही दिनमैं तथ्यांक संकलन हुने बताए ।

पर्सा जिल्लामा रहेका ३६७ वटा सामुदायिक विद्यालयमा १ लाख २७ हजार ३३५ जना अध्ययनरत रहेको २०८१ सालको तथ्यांकले देखाएको उनले बताए ।२०८१ सालको तथ्यांकले संस्थागत (निजी) विद्यालयहरूमा ३३ हजार २५३ जना विद्यार्थी अध्ययनरत रहेको उनले बताए ।

प्रमुख राउतले २०८२ सालको नयाँ शैक्षिक सत्रमा वीरगन्ज महानगरमा रहेका अङ्ग्रेजी माध्यमका चारवटा सामुदायिक विद्यालयले भर्ना अभियानअगावै विद्यार्थी भर्ना रोक्नुपरेको बताए । अङ्ग्रेजी माध्यमबाट अध्यापन हुने महानगरका त्रिजुद्ध, नृसिंह, माईस्थान विद्यापीठ र सिद्धार्थ माविले जेठ ७ गतेअगावै भर्ना अभियान रोक्नुपरेको उनले बताए । यी चारवटा विद्यालयमा विद्यार्थी भर्नाका लागि आवश्यक आवेदनभन्दा अत्यधिक विद्यार्थीहरूले आवेदन दिएका कारण निर्धारित समयअगावै भर्ना अभियान रोक्नुपरेको उनले बताए ।

अङ्ग्रेजी माध्यममा अध्ययनका लागि विद्यार्थीहरूको आकर्षण बढेकाले चार विद्यालयमा भर्ना अभियानअगावै विद्यार्थीहरूको चाप बढेकाले भर्ना अभियान रोक्नुपरेको तर अन्य विद्यालयहरूमा भने जेठ ७ गतेसम्म भर्ना अभियान सञ्चालन भएको बताए ।साभारः प्रतिक दैनिक

Related posts

स्वास्थ्यमन्त्री यादवको पहिलो निर्णय :वीरगन्जको नारायणीसहित ठूला अस्पतालमा जनशक्ति थप गर्ने

MadhesKhabar

राष्ट्रिय धान दिवस: जगरनाथपुरमा किसानलाई प्रोत्साहित गर्न नगदसहित सम्मान

MadhesKhabar

लाेसपाका केन्द्रीय उपाध्यक्ष एंव वीरगन्जका उपमेयर झासहित ५ सय बढी जसपामा प्रवेश

MadhesKhabar

Leave a Comment