Madhes Khabar
मधेस प्रदेश

प्रेम सम्बन्धका कारण युवकको हत्या, प्रेमिकासहित ६ जना पक्राउ

मलंगवा,५जेठः सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ किसनपुरका अरविन्द कुमार पण्डितको प्रेम सम्बन्धका कारण हत्या भएको खुलेको छ।जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार सदरमुकाम मलंगवामा पत्रकार सम्मेलन गरी २८ वर्षीय पण्डितको प्रेम सम्बन्धका कारण हत्या भएको जानकारी गराएको हो। पण्डितको वैशाख २८ गते हत्या भएको थियो। पत्रकार सम्मेलनमा प्रहरीले हत्यामा संलग्न रहेका पण्डितकी प्रेमिकासहित ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा पण्डितको प्रेमिका ईश्वरपुर नगरपालिका–६ चिरानटोलकी २५ वर्षीया नजिमा खातुन, नजिमाका श्रीमान् मोस्तकिम अंसारी,४३ वर्षीय मोहम्मद हुसेन मोमिन, ४० वर्षीय सुयब अंसारी, २५ वर्षीय कोनूर आलम अंसारी र सलाउद्दिन अंसारी रहेका छन्।
प्रहरीका अनुसार मृतक पण्डित र अभियुक्त नजिमा खातुनबिच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो। अरविन्द अविवाहित थिए भने नजिमा तीन सन्तानकी आमा हुन्। उनीहरू गएको चैत १९ गतेबाट घरबाट भागेर भारतसम्म पुगेका थिए। उनीहरू भारतमा एक महिना बसेर वैशाख २० गते नेपाल आएका थिए।

घर फर्किएपछि गाउँका पञ्चहरु बसेर नजिमालाई श्रीमान मोस्तकिम अंसारीले नै राख्ने सहमति जुटेको थियो। त्यसपछि पनि पण्डित पटक–पटक नजिमा खातुनको घरमा पुगेको पाइएको प्रहरीले जनाएको छ। दुवै जनालाई स्थानीय पञ्चायती गरेर अलग गरे पनि पण्डित आउजाउ गर्दै आएका थिए।

पण्डित नजिमालाई भेट्न आउजाउ गरेको देखेपछि गाउँलेले नजिमालाई मानसिक तनाव दिने गरेको र त्यसपछि नजिमासहित परिवारका सदस्य र आफन्त मिलेर पण्डितको हत्या गर्ने योजना बुनेको प्रहरीले जनाएको छ। पण्डित वैशाख २४ गतेदेखि बेपत्ता बनेका थिए।

पण्डितलाई वैशाख २८ गते बिहान ८ नजिमाले फूलजोर बाबा मन्दिर नजिक भेट्न बोलाएर हत्या गरिएको थियो। पक्राउ परेका अभियुक्तहरू मिलेर ईश्वरपुर नगरापालिका–८ स्थित फूलजोर खोला नजिकै लगेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिए। प्रहरी उपरीक्षक खड्काका अनुसार फूलजोर बाबा मन्दिरमा भेट्न बोलाएर त्यसको एक घण्टापछि फूलजोर खोलातर्फ लगेर प्रेमी नजिमा, उनको श्रीमान मोस्तकिम सहितले पण्डितको हत्या गरेको खुलेको छ।

हत्यापछि अभियुक्तहरू लाशलाई घाँसपात र लहरीको घस्यौटाले छोपेर घर फर्किएका थिए। हत्या गरेको भोलिपल्ट वैशाख २९ गते राति ९ बजेतिर अधियुक्तहरूले अरविन्दको लाशलाई ईश्वरपुर नगरपालिका–८, स्थित थकरिया चौरीमा रहेको उखु बारीमा लगेर फालेका थिए। सडेको अवस्थामा पण्डितको शव प्रहरीले बरामद गरेको थियो।

वैशाख ३० गते बिहान साढे ८ बजे मृतक पण्डितको शव फेला परेको थियो। सुरुमा शवको सनाखत नै हुन सकेको थिएन। वैशाख ३१ मृतकको दाजु अशोक कुमार पण्डित कुम्हारले प्रादेशिक अस्पताल मलङ्गवामा पुगेर शवको सनाखत गरेका थिए।

प्रारम्भिक अनुसन्धानमा पण्डितको हत्यामा छ जना संलग्न रहेको पाइएको र उनीहरुविरुद्ध सर्लाही जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको एसपी खड्काले बताए। अहिलेसम्मको अनुसन्धानमा पण्डितको मुख थुनेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ। साभारःअन्नपूर्णपोष्ट

Related posts

सप्तरीको चिम्टीमा भीषण आगलागी, १५० भन्दा बढी घरगाेठ जलेर नष्ट

MadhesKhabar

रौतहटको गढीमाइमा कांग्रेस विजयी

MadhesKhabar

रौतहटमा आगलागीमा जलेर एक बालिकाको मृत्यु

MadhesKhabar

Leave a Comment