
रौतहट,१५ चैत : रौतहटको इशनाथ नगरपालिका– ६ जयनगर टोलमा मंगलबार राति दुई घरमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ भने अर्की एक जना जलेर घाइते भएकी छन् ।
जयनगर गाउँका मजिबुर रहमानको घरमा आगलागी हुँदा सुतिरहकी १२ वर्षीया छोरी राजिया खातुनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । राति झन्डै १० बजेको समयमा शेख इसरातको गोठबाट आगलागी सुरु भएको थियो । रजियासँगै सुतिरहेकी १० वर्षीया सजिया खातुनको दुवै हात, अनुहार जलेर गम्भीर घाइते भएकी छन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि थप उपचारका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको जिल्लाप्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटनालगत्तै सशस्त्र प्रहरी बेस क्याम्प रामपुर खाप, प्रहरीचौकी जयनगरबाट सुरक्षाकर्मीको टोली पुगेर आगो नियन्त्रणमा लिएको थियो । आगलगीबाट दुई वटा घर जलेको छ । आगलागीको कारणबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक वीरबहादुर बुढा मगरले बताए । घटनामा क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । साभार ः कान्तिपुर

