काठमाडौं, ५जेठ : खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंको सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ गरेका छन् ।सोमबार मन्त्री यादवले सिंहदरबार भित्र मेलम्चीको शुद्ध, सुरक्षित खानेपानी वितरण कार्यको शुभारम्भ गरेका हुन् ।
सोमबारबाट विधिवत रुपमा शुभारम्भ गरिएको मेलम्चीको पानी अब सिंहदरबार परिसरमा रहेका सबै मन्त्रालय एवं कार्यालयहरुमा वितरण गरिने मन्त्री यादवले बताए ।उनले भने, “आजबाट सिंहदरबारमा विधिवत रुपमा मेलम्चीको पानी आएको छ । यसभन्दा पहिले भुमिगतको पानी सिंहदरबारमा आएको थियो । अब यहाँ मेलम्चीको शुद्ध र सुरक्षित खानेपानी वितरण हुनेछ ।”
यसैगरी मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरु भएपछि अबदेखि सिंहदरबार क्षेत्रभित्र प्रयोग हुँदै आएको जार र बोतलको पानी विस्थापित गरिने बताए ।उनले भने, “सिंहदरबारमा मेलम्ची खानेपानी वितरण कार्यको विधिवत रूपमा शुभारम्भ गरेको छु । अब जार र बोतलको पानी विस्थापित हुन्छ ।”
सिंहदरबारभित्र रहेका सम्पूर्ण मन्त्रालय तथा कार्यालयहरूमा मेलम्चीको शुद्ध र सुरक्षित खानेपानी पु¥याउनका लागि पाइप लाइनको विस्तार गरिने समेत मन्त्री यादवले जानकारी दिए ।कार्यक्रममा मन्त्रालयका सचिव प्रमिलदेबी शाक्य बज्राचार्य, सहसचिव मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवसथापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, केयुकेएलका प्रमुख अशोक पौडेल लगायतकाको सहभागिता रहेको थियो ।

