वीरगन्ज,३१बैशाखःपर्साको पकाहाँमैनपुर गाउँपालिकामा गाउँपालिका कमिटी गठनको विषयलाई लिएर नेकपा एमालेभित्र विवाद चर्किएको छ ।
गाउँपालिका अधिवेशन उद्घाटन भएको करिब एक महिनापछि बैशाख २५ गते एमालेका कार्यवाहक जिल्ला अध्यक्ष एवं छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले बन्दसत्रमा निर्वाचन प्रक्रिया नै नगरी सामजिक सञ्जाल फेसबुकबाट कमिटीको नाम घोषणा गरेको भन्दै केही प्रतिनिधिले बहिष्कार गरेका छन् । गत चैत २३ गते गाउँपालिका अधिवेशन उद्घाटन भएपनि विवादका कारण कमिटी गठन हुन नसक्दा बन्दसत्र अनिश्चित समयका लागि अध्यक्ष मण्डलका अध्यक्ष एवं जिल्ला अध्यक्ष विश्वम्भर शर्माले स्थगित गरेका थिए ।
तर बैशाख २५ गते बन्दसत्रको प्रक्रिया पूरा नै नगराई एमाले कार्यवाहक जिल्ला अध्यक्ष गुप्ताले फेसबुक मार्फत अकलेश साहको अध्यक्षतामा गाउँपालिका कमिटी गठन गरिएको घोषणा गरेका थिए ।
कमिटी गठनबारे बन्दसत्रमा कुनै पनि छलफल र प्रक्रिया नगरी पदाधिकारी घोषणा हुन थालेपछि आफूहरू बहिष्कार गरेर आन्दोलनमा उत्रिएको प्रतिनिधि हामिद मियाँले बताए । ‘कसको कुन पदमा आकांक्षा छ भनेर प्रतिनिधिलाई कुरै राख्न दिइएन । आफूलाई मन परेका नाम खल्तीबाट निकालेर घोषणा गरियो ।’ एमाले पूर्व जिल्ला कमिटीको सदस्यसमेत रहेका उनले भने, ‘कुनै पनि विधि, पद्दति र प्रक्रिया नअपनाई घोषणा गरिएको कमिटी स्वीकार्य हुँदैन भनेर सहभागीमध्ये ७५ प्रतिशत प्रतिनिधि बहिष्कार गरेर आन्दोलनको प्रक्रिया होमिएको बताए ।’ आफू अध्यक्ष पदको दाबेदार भए पनि बैठकमा उम्मेदवारीबारे कुरै राख्न नदिइएको उनले बताए ।
पकाहाँमैनपुर गाउँपालिका इन्चार्ज एवं निर्वाचन कमिटीका संयोजक विजय चौरसियाले प्रतिनिधिलाई आफ्नो अधिकार प्रयोग गर्न नदिएर गाउँपालिका कमिटी घोषणा गरिएको बताए । उम्मेदवार बन्नबाट रोकिएपछि केही प्रतिनिधिले मनोमानी हिसाबले गठन गरिएको कमिटी बहिष्कार गरेको उनले जानकारी दिए । ‘कसैलाई उम्मेदवारी हाल्ने अवसर नै दिइएन । प्रतिनिधिले आफ्नो अधिकार प्रयोग गर्न पाएनन् ।’ चौरसियाले भने, ‘अधिवेशन विधि–विधानअनुसार भएन । यसबारे माथिलो पार्टी कमिटीमा कुरा उठाउँछौँ ।’ निर्वाचन प्रक्रिया नै सुरु नगरी कमिटी घोषणा गर्नु विधान र प्रक्रियाविपरीत भएको उनको भनाइ छ ।
जिल्ला इन्चार्ज प्रभु हजरा र अध्यक्ष विश्वम्भर शर्माले आफ्ना नजिक भएका साहलाई अध्यक्ष बनाउन एकलौटी रूपमा कमिटी घोषणा गर्न लगाएको असन्तुष्ट पक्षको आरोप छ । एमाले केन्द्रीय सदस्य एवं पर्सा क्षेत्र नंबर ३ का इन्चार्ज अरविन्द सिंहले पनि पकाहाँमैनपुर कमिटी चयनमा असन्तुष्टि रहेको दावी गरे । आन्तरिक विवादका कारण लामो समयसम्म नेतृत्व चयन हुन नसके पनि अहिले असहमतिमै कमिटी टुंग्याइएकाले झन् विवाद उत्पन्न भएको उनले बताए ।

