काठमाडौं,२८बैशाखः चालू आर्थिक वर्ष २०८१/०८२ को ९ महिनामा झन्डै १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार गतसाउनदेखि चैतसमम ९ महिनाको अवधिमा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गएको आर्थिक वर्षको यही अवधिको तुलनामा १० दशमलव शून्य प्रतिशतले बढी हो ।
यस्तै ९ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यापनि बढेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या तीन लाख ५८ हजार दुई सय २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ४९ हजार ६ सय ५२ छ । अघिल्लो वर्षको यही अवधिमा ३ लाख २७ हजार आठ सय ४२ जनाले अन्तिम श्रम स्वीकृति र दुई लाख ११ हजार दुई सय २६ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।
यस्तै विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । गएको असार मसान्तसम्म २० खर्ब ४१ अर्ब बराबर रहेको विदेशी मुद्रा सञ्चिति १८ दशमलव ९ै प्रतिशतले बढेर चैत मसान्तसम्म २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको हो ।
चालू आर्थिक वर्षको नौ महिनामा कुल वस्तु निर्यात ६५ दशमलव दुई प्रतिशतले बढेर एक खर्ब ८८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । यस्तै नौ महिनामा कुल वस्तु आयात १२ दशमलव २ प्रतिशतले बढेर १३ खर्ब नौ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । योसँगै कुल वस्तु व्यापार घाटा ६ दशमलव चार प्रतिशतले बढेर ११ खर्ब २१ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

