वीरगन्ज,२८बैशाखःमुलुकको प्रमुख आर्थिक नगरी भनेर चिनिएको वीरगन्जलाई तीन÷चार बर्षअघि सम्म फोहोर र मच्छड(लामुखुट्टे) को शहर भनेर गिज्याइन्थ्यो ।वीरगन्जले मच्छडगन्जको उपमापनि पाएको थियो ।तर अहिले वीरगन्जको मुहार फेरिएको छ । तीन/चार वर्षपछि बाहिरबाट वीरगन्ज आउनेहरुले भन्छन् ,‘ आहा वीरगन्ज त कति सफा पो भएछ ।’
पहिले पहिले वीरगन्जको मुख्यसडकमै जताततै फोहोरको थुप्रो हुन्थ्यो ।फोहोर र नालाको दुर्गन्धले सडकमा हिड्नै मुश्किल पथ्र्यो । तर अहिले त्यो बाध्यता छैन । वीरगन्जका मुख्य शहरी क्षेत्रका सडक स्वच्छ र सफा देखिन्छन् ।
वीरगन्ज महानगरको नेतृत्व मेयर राजेशमान सिंहले सम्हालेको ३ वर्ष पुरा भएको छ ।त्यस यता महानगरको नेतृत्वले वीरगन्जलाई ‘बैभव वीरगन्ज’ बनाउने नारा लिएर शहरको सरसफाई र सौन्दर्यकरणलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ ।त्यसैको नीतजा हो अहिलेको स्वच्छ र सफा वीरगन्ज ।
कुनै बेला अत्यन्त साँघुरो सडक, अव्यवस्थित घनाबस्ती र फोहोरका कारण अस्तव्यस्त देखिने वीरगन्ज शहर अहिले सफा र व्यवस्थित हुँदै गएको छ ।वीरगन्ज शहरको मुहार फेरिनुको कारण अहिलेको नेतृत्वले लिएका केहि निर्मम निर्णयपनि हुन् ।
सडक, नाला वा खाली जग्गामा जथाभावी फोहोर फाल्नेलाई वीरगन्ज महानगरपालिकाले आर्थिक जरीवाना तिराउने गरेको छ ।२०७९ पुष १७ देखि गत चैत मसान्तसम्म सडक वा नालामा जथाभावी फोहोर फाल्ने र गर्ने १ हजार ४ सय भन्दा बढी व्याक्ति तथा संस्था कारबाहीमा परिसकेका छन् । महानगरपालिकाको सरसफाई व्यवस्थापन शाखाका प्रमुख सरफुदिन मियाँका अनुसार, २०७९ पुस १७ देखि २०८१ चैत ३१ सम्म जथाभावी फोहोर फाल्ने १ हजार ४ सय ४१ जनालाई कारबाही गरि ४२ लाख ४३ हजार १०५ रुपैयाँ जरिवाना तिराइएको छ ।न्युनतम ५ सय रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँसम्म जरिवाना गरिएको मियाँले बताए ।
मियाँले भने,‘ जथाभावी फोहोर फाल्ने प्रवृति रोक्न सुरुका चरणमा हामीले टोल टोलमा पुगेर सचेतनामुलक कार्यक्रम गयौं । तर त्यसले काम नगरेपछि २०७९ पुस १७ गतेदेखि आर्थिक जरिवाना नै तिराउन थाल्यौ । जसका कारण अहिले जथाभावी फोहोर फाल्ने प्रवृतिमा निक्कै कमी आएको छ । अनि शहरपनि पहिलेको भन्दा अहिले निक्कै सफा र स्वच्छपनि देखिन थालेको छ ।
महानगरले हरेक वडामा बिहान र साँझमा गरी दुई पटक ट्याक्टर र दुई पाङग्रे ठेला पठाएर घर, पसल वा संस्थाका फोहोर संकलन गर्दै आएको उनले बताए । यसका साथै शहरी क्षेत्रका मुख्य सडकमा दैनिक ३ पटक झाडुपनि लगाउने गरिएको उनले बताए । यस्तै नाला र ढलपनि नियमित रुपमा सफाई भइरहेको जानकारीपनि उनले दिए ।
वीरगन्जमा वर्षाका बेला ढलको पानीले हुने डुबानको समस्या निराकरणका लागि यसबर्षपनि बर्षा सुरु हुनु अगावै करिब ९ किलोमिटर मेन ड्रेन नालाको माटो निकालेर सफा गरिएको मियाँले बताए । उनले भने,‘ वीरगन्जको मेन ड्रेनको माटो नै झिकेर सफा गरिएको यो झण्डै २५ वर्षपछि नै हो ।’

