Madhes Khabar
स्थानिय

३ वर्षभित्रै बन्नु पर्ने दुधौरा पुल ६ वर्ष बित्दापनि अधुरै

वीरगन्ज,४फाल्गुनःपूर्व–पश्चिम राजमार्ग अन्तर्गत् बाराको पथलैया–निजगढ सडक खण्डको दुधौरा खोला पुल निर्माणको काम अलपत्र परेको छ । निर्माण सम्झौता हुँदाको म्याद सकिएको ३ वर्ष बितिसकेको छ । तर न त सरकारले पुल निर्माणका लागि पर्याप्त बजेट छुट्याएको छ, न त निर्माण कम्पनीले नै सम्झौताअनुसार काम गरेको छ ।

ठेकेदार कम्पनीले काम सम्पन्न भइसकेको कामको समेत पैसा नपाएका कारण समयमा काम गर्न नसकेको आरोप लगाएको छ । अझ रोचक त के छ भने काम गरेको रकम भुक्तानी र पर्याप्त बजेट उपलब्ध गराइदिन भन्दै ठेकेदार कम्पनीले पुलको डाइभर्सन सडक छेउमा सार्वजनिक अपिलको होर्डिङ्ग बोर्ड नै लगाएको छ ।

जसमा लेखिएको छ, ‘यस पुलमा कार्य सम्पन्न भई सकेको बिलको भुक्तानी बजेट अभावको कारण प्राप्त हुन नसकेता पनि यस जेभीले निरन्तर र नियमित निर्माण कार्य गरिरहेको छ । सम्बन्धित सरोकारवाला पक्षहरुलाई चाँडो भन्दा चाँडो कार्य सम्पन्न गर्न भुक्तानीका लागि पहल गरिदिनुहुन अनुरोध गर्दछौँ ।’

महादेव÷खिम्ती÷हिराचन्द जेभीले आर्थिक वर्ष २०७४/७५ मा १५ करोड १२ लाख रुपैयाँमा दुधौरा पुलको ठेक्का सहमति गरेको थियो । सडक विभागको पुल युनिट सेक्टर २ ले लगाएको उक्त ठेक्का ३ वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो ।

३ वर्ष भित्र सम्पन्न हुनुपर्ने पुल निर्माणको काम अहिले ६ वर्षमा मात्र ५६ प्रतिशत मात्र भएको छ । समयमा पुल निर्माण नहुँदा यात्रुवाहक, मालवाहक, मोटरसाइकल, चार चक्के सवारीका यात्रुले सास्ती खेप्दै आएका छन् । ठेकेदार कम्पनीका अनुसार तीन वर्ष भित्र सम्पन्न गर्ने अवधि भएपनि सो अवधि भित्र सडक विभागले पुलको डाइभर्सजनका लागि बेलीब्रिज नै उपलब्ध गराएन ।

ठेकेदार कम्पनीका इन्जिनियर अजय झाले सम्झौता अनुसार बेलिब्रिज सडक विभागले उपलब्ध गराउनुपर्ने थियो । ‘तर, दुई वर्षसम्म बेलिब्रिज नै उपलब्ध भएन्,’ उनले भने, ‘बेलिब्रिज लगाएर मात्र पुरानो पुल भत्काउनु पर्ने थियो ।’

पुलको पिलरको रिडिजाइन गर्दापनि केही ढिलाई भएको उनले बताए । उनका अनुसार गत आर्थिक वर्षको असारसम्मको बिल हालसम्म भुक्तानी नहुँदा निर्माण कार्यले गति लिएको छैन् ।

‘गत असारसम्मको करिब ५ करोडको बिल पेश गरेका थियौँ,’ ठेकेदार कम्पनीका प्राविधिक झाले भने, ‘तर, ५०\६० लाख रुपैयाँ मात्र भुक्तानी भएको छ । गत आवसम्म पुलको ५६ प्रतिशत काम सम्पन्न भएको थियो ।’

काम गरेको बिलको भुक्तानी नहुँदा आफूहरुले तिर्नुपर्ने ठाउँमा रकम तिर्न नसकिएको उनले सुनाए । ‘मजदुरको समेत पैसा तिर्न सकेका छैनौँ,’ उनले भने, ‘पैसा भुक्तानी नपाउँदा कामले गति लिन सकेको छैन् ।’ भुक्तानी पाएन भने थपिएको म्यादमा पनि पुलको काम सम्पन्न नहुने उनले बताए । सडक विभागले चालु आवको मसान्तसम्म म्याद थपेको छ ।

सडक विभागको पुल युनिट सेक्टर २ का इन्जिनियर नितेश झा दुधौरा पुलका ठेकेदार कम्पनीले पेश गरेको बिल मध्ये ४०/४२ लाख रुपैयाँ मात्र भुक्तानी हुन बाँकी रहेको बताउँछन् ।

हालसम्म सम्पन्न भएको ५० प्रतिशत काम वापतको सात करोड २० लाख रुपैयाँ भुक्तानी दिइसकिएको उनले बताए । ‘करिब ४०÷४२ लाख मात्र भुक्तानी बाँकी छ,’ उनले भने, ‘त्यो पनि अबको केही दिनभित्र ठेकेदार कम्पनीले भुक्तानी पाउने छ ।’ ठेकेदार कम्पनीले निर्माण कार्यलाई गति दिन नसकेको सडक विभागका प्राविधिकले आरोप लगाएका छन् ।साभार : ईकान्तिपुरबाट

Related posts

रानीघाटमा रहेकाे किताब पसलकाे गाेदाममा आगलागी हुदाँ १० लाखकाे क्षति

MadhesKhabar

वीरगन्जमा प्रदेश सरकारले अधिकांश काम अलपत्र छाडेकाे मेयर सिंहकाे गुनासाे

MadhesKhabar

टिकटक बन्द गर्ने सरकारकाे निर्णय स्वागत याेग्य छ : सांसद यादव

MadhesKhabar

Leave a Comment