Madhes Khabar
स्थानिय

३ वर्षभित्रै बन्नु पर्ने दुधौरा पुल ६ वर्ष बित्दापनि अधुरै

वीरगन्ज,४फाल्गुनःपूर्व–पश्चिम राजमार्ग अन्तर्गत् बाराको पथलैया–निजगढ सडक खण्डको दुधौरा खोला पुल निर्माणको काम अलपत्र परेको छ । निर्माण सम्झौता हुँदाको म्याद सकिएको ३ वर्ष बितिसकेको छ । तर न त सरकारले पुल निर्माणका लागि पर्याप्त बजेट छुट्याएको छ, न त निर्माण कम्पनीले नै सम्झौताअनुसार काम गरेको छ ।

ठेकेदार कम्पनीले काम सम्पन्न भइसकेको कामको समेत पैसा नपाएका कारण समयमा काम गर्न नसकेको आरोप लगाएको छ । अझ रोचक त के छ भने काम गरेको रकम भुक्तानी र पर्याप्त बजेट उपलब्ध गराइदिन भन्दै ठेकेदार कम्पनीले पुलको डाइभर्सन सडक छेउमा सार्वजनिक अपिलको होर्डिङ्ग बोर्ड नै लगाएको छ ।

जसमा लेखिएको छ, ‘यस पुलमा कार्य सम्पन्न भई सकेको बिलको भुक्तानी बजेट अभावको कारण प्राप्त हुन नसकेता पनि यस जेभीले निरन्तर र नियमित निर्माण कार्य गरिरहेको छ । सम्बन्धित सरोकारवाला पक्षहरुलाई चाँडो भन्दा चाँडो कार्य सम्पन्न गर्न भुक्तानीका लागि पहल गरिदिनुहुन अनुरोध गर्दछौँ ।’

महादेव÷खिम्ती÷हिराचन्द जेभीले आर्थिक वर्ष २०७४/७५ मा १५ करोड १२ लाख रुपैयाँमा दुधौरा पुलको ठेक्का सहमति गरेको थियो । सडक विभागको पुल युनिट सेक्टर २ ले लगाएको उक्त ठेक्का ३ वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो ।

३ वर्ष भित्र सम्पन्न हुनुपर्ने पुल निर्माणको काम अहिले ६ वर्षमा मात्र ५६ प्रतिशत मात्र भएको छ । समयमा पुल निर्माण नहुँदा यात्रुवाहक, मालवाहक, मोटरसाइकल, चार चक्के सवारीका यात्रुले सास्ती खेप्दै आएका छन् । ठेकेदार कम्पनीका अनुसार तीन वर्ष भित्र सम्पन्न गर्ने अवधि भएपनि सो अवधि भित्र सडक विभागले पुलको डाइभर्सजनका लागि बेलीब्रिज नै उपलब्ध गराएन ।

ठेकेदार कम्पनीका इन्जिनियर अजय झाले सम्झौता अनुसार बेलिब्रिज सडक विभागले उपलब्ध गराउनुपर्ने थियो । ‘तर, दुई वर्षसम्म बेलिब्रिज नै उपलब्ध भएन्,’ उनले भने, ‘बेलिब्रिज लगाएर मात्र पुरानो पुल भत्काउनु पर्ने थियो ।’

पुलको पिलरको रिडिजाइन गर्दापनि केही ढिलाई भएको उनले बताए । उनका अनुसार गत आर्थिक वर्षको असारसम्मको बिल हालसम्म भुक्तानी नहुँदा निर्माण कार्यले गति लिएको छैन् ।

‘गत असारसम्मको करिब ५ करोडको बिल पेश गरेका थियौँ,’ ठेकेदार कम्पनीका प्राविधिक झाले भने, ‘तर, ५०\६० लाख रुपैयाँ मात्र भुक्तानी भएको छ । गत आवसम्म पुलको ५६ प्रतिशत काम सम्पन्न भएको थियो ।’

काम गरेको बिलको भुक्तानी नहुँदा आफूहरुले तिर्नुपर्ने ठाउँमा रकम तिर्न नसकिएको उनले सुनाए । ‘मजदुरको समेत पैसा तिर्न सकेका छैनौँ,’ उनले भने, ‘पैसा भुक्तानी नपाउँदा कामले गति लिन सकेको छैन् ।’ भुक्तानी पाएन भने थपिएको म्यादमा पनि पुलको काम सम्पन्न नहुने उनले बताए । सडक विभागले चालु आवको मसान्तसम्म म्याद थपेको छ ।

सडक विभागको पुल युनिट सेक्टर २ का इन्जिनियर नितेश झा दुधौरा पुलका ठेकेदार कम्पनीले पेश गरेको बिल मध्ये ४०/४२ लाख रुपैयाँ मात्र भुक्तानी हुन बाँकी रहेको बताउँछन् ।

हालसम्म सम्पन्न भएको ५० प्रतिशत काम वापतको सात करोड २० लाख रुपैयाँ भुक्तानी दिइसकिएको उनले बताए । ‘करिब ४०÷४२ लाख मात्र भुक्तानी बाँकी छ,’ उनले भने, ‘त्यो पनि अबको केही दिनभित्र ठेकेदार कम्पनीले भुक्तानी पाउने छ ।’ ठेकेदार कम्पनीले निर्माण कार्यलाई गति दिन नसकेको सडक विभागका प्राविधिकले आरोप लगाएका छन् ।साभार : ईकान्तिपुरबाट

Related posts

सिमरा बस दुर्घटनाका घाइते गहवाका थप एक युवककाे उपचारका क्रममा मृत्यु 

MadhesKhabar

पर्सामा मधेसी पत्रकार समाजको नयाँ कार्यसमिति गठन

MadhesKhabar

वीरगन्जसहित पर्साका सबै नाका आजदेखि ३ दिनका लागि बन्द

MadhesKhabar

Leave a Comment