काठमाडौं,२८बैशाखः राजसंस्था फर्काउनका लागि गठित संयुक्त जनआन्दोलन समितिले आगामी जेठ १५ गते काठमाडौंमा हुने प्रदर्शनसहितको आन्दोलनमा सहभागी हुन जनतालाई आह्वान गरेको छ ।
आइतबार समितिका संयोजक नवराज सुवेदीको संयोजकत्वमा काठमाडौंमा बसेको बैठकले जेठ १५ गते काठमाडौंमा हुने प्रदर्शनमा सहभागी हुन देशभरका जनतालाई आह्वान गर्ने निर्णय गरेको हो ।आइतबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा, नेपालका अध्यक्ष कमल थापा लगायतको सहभागिता थियो ।
जनआन्दोलन समितिले यसअघि नै जेठ १५ गते काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरिसकेको थियो ।‘जेठ १५ गतेको आन्दोलनमा सहभागी हुन काठमाडौं बाहिरका जनतालाई काठमाडौं आउन आह्वान गर्ने,’ आइतबारको बैठकले गरेको निर्णयमा भनिएको छ, ‘काठमार्डौका जनता र सबै वर्ग, पेशा र समुदायलाई सक्रिय सहभागीताका लागि आह्वान गर्ने ।’उक्त दिनको आन्दोलन पूर्णतया शान्तिपूर्ण रहने समितिले बताएको छ ।
बैठकले तीनकुने घटनाको सन्दर्भमा पक्राउ परेकाहरूलाई तत्काल रिहाइको माग गर्ने निर्णय पनि गरेको छ ।आइतबारको बैठकमै संयोजक सुवेदीले राजसंस्था फर्काउने अभियानको वातावरण अनुकूल बन्दै गएको ब्रिफिङ गरेका थिए ।
‘वातावरण अत्यन्त अनुकूल भएको छ । अब सबै मिलेर आन्दोलन सफल बनाउनु पर्दछ । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य पुनस्र्थापना हुने संभावना बलियो भएको छ,’ सुवेदीले भनेका छन् ।


