वीरगन्ज,१९बैशाख : स्वास्थ्यका लागि निकै हितकर मानिन्छ सजिवनको तरकारी। अहिलेको बढ्दो मधुमेह र उच्च रक्तचापका बिरामीका लागि सजिवनको पात र लस्साको धुलोको सेवन अमृत सरह नै हुने चिकित्सक बताउँछन्।
स्वास्थ्यका लागि निकै गुणकारी मानिएको त्यही सजिवन (मोरिंगा)को व्यावसायिक खेतीमा रमाउन थालेका छन् युवा किसान शेखर चौधरी। पर्साको जिराभवानी गाउँपालिका-३ जितपुरस्थित आफ्नै पैतृक गाउँमा चौधरीले करिब साढे तीन बिघा जग्गामा सजिवनको व्यावसायिक खेती गरेका छन्। पुस्तैनी जग्गामा चौधरीले सजिवनका २ हजार बिरुवा रोपेका छन्। सँगै कटहरका ५ सय वटा बिरुवा रोपेको चौधरी बताउँछन्।
चौधरी भन्छन्, ‘तरकारीको प्रायोजनका लागि कटहर रोपेको छु। तर मेरो बढी फोकस सजिवनकै खेतीमा छ। भारतबाट प्रतिगोटा चार सय रुपैयाँमा सजिवनको बेर्ना ल्याएर रोपेको हुँ।’
मधेस प्रदेशमै सजिवनको व्यावसायिक खेती सम्भवतः आफूले नै पहिलो पटक सुरु गरेको उनी बताउँछन्। चौधरी भन्छन्, ‘वीरगन्ज, हेटौंडा, काठमाडौं लगायतका सहरमा पछिल्लो समय सजिवनको माग निकै बढ्दो छ। नेपालमा यसको व्यावसायिक खेती धेरै नभएका कारण दैनिक लाखौं मूल्यको सजिवन भारतबाट आयात गर्नु परिरहेको छ। त्यही देखेर मैले सजिवनको व्यावसायिक खेती थालेको हुँ।’
यस्तै बेमौसमी कटहरको पनि माग धान्ने उत्पादन नेपालमा नुहुँदा भारतबाट आयात भइरहेकाले नेपालको पैसा नेपालमै रहोस् भनेर कटहर खेती गरिरहेको उनले सुनाए।
व्यवस्थापन संकायमा १७ वर्षपहिले स्नातकोत्तर गरिसकेका चौधरी भन्छन्,‘सजिवनको व्यावसायिक खेती मैले हचुवामा थालेको होइन। यसको खेती र बजारका बारेमा मैले ६/७ वर्षसम्म रिसर्च गरेपछि मात्रै यसमा म लागेको हुँ।’
आफूले लगाएको सजिवनको हरेक बोटले वर्षमा तीन पटक उत्पादन दिने र एक बोटमा करिब ५० किलोसम्म सजिवन फल्ने चौधरी बताउँछन्। उनी भन्छन्,‘७/८ महिना पहिले नै सजिवनको बेर्ना भारतबाट ल्याएर रोपेको हुँ। अहिलेसम्म त यसले उत्पादन दिन सुरु गरिसक्नु पर्थ्यो। तर विद्युत् प्राधिकरणले समयमै विद्युतको लाइन नदिएर अड्काइदियो। जसका कारण समयमा सिँचाइ गर्न सकिएन। आकासे पानीको भर मात्रै पर्नु पर्यो। तर अब लाइन जोडिसकेकाले चाहे जति सिँचाइ भइरहेको छ। सम्भवतः भदौदेखि सजिवन फल्न सुरु गर्छ होला।’
सजिवन र कटहर खेती दुवैमा गरेर अहिलेसम्म करिब २० लाख रुपैयाँ लगानी भइसकेको चौधरी सुनाउँछन्। उनी भन्छन्,‘सजिवन खेतीबाट मात्रै वार्षिक २५ देखि ३० लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य राखेको छु। त्यस्तै कटहरबाट वर्षको १०/१२ लाख जति आम्दानी हुन्छ भनेर सोचेको छु।’
सजिवनका लागि बजारको समस्या नरहेको बताउँदै चौधरी भन्छन्,‘सुरु सुरुमा फल्न थालेपछि मेरो बजार वीरगन्ज नै हुन्छ। आफैंले मान्छे राखेर तीन चार वटा ई–रिक्सामा सजिवन राखेर वीरगन्ज बजारभरी घुमाउँछु। त्यसो गर्दा मूल्य राम्रै आउँछ। पछि उत्पादन बढ्दै गएपछि भने हेटौंडा, नारायणगढ, काठमाडौं लगायतका शहरहरूमा पनि पठाउने योजना छ।’
यस्तै उत्पादन हुने कटहर बेमौसमी तरकारीका रूपमा बजारमा आपूर्ति गर्ने लक्ष्य रहेको उनि बताउँछन्। चौधरी भन्छन्,‘खासगरि मधेसका बजारमा बेमौसमी तरकारीका रूपमा कटहरको माग बढ्दो छ। बिहेका लगन, चाडपर्व चलिरहेको सिजनमा देशको उत्पादनले नै धान्न सकिरहेको छैन अहिले। त्यसका कारण कटहरको बजारका लागि पनि कुनै चिन्ता छैन मलाई।’
सजिवन र कटहर खेतीमा आफूले अहिलेसम्म रासायनिक मल नहालेको चौधरी बताउँछन्। उनि भन्छन्,‘कम्पोस्ट मल मात्रै प्रयोग गर्दै आएको छु। विशुद्ध अर्गानिक उत्पादन गर्ने मेरो सोच छ। रोगकिरा लागेको अवस्थामा भने सामान्य प्रकारका किटनाशक विषादी मात्रै प्रयोग गर्नु परेको छ।’
सजिवन र कटहरको खेतीमा आफूले गाउँकै सात जनालाई रोजगारी दिएको उनले सुनाए। उनले भने,‘पहिलो उत्पादन राम्रो भयो र त्यसले निरन्तरता पायो भने यो खेतीलाई अझ बढाउँछु। खेती बढाएपछि थप मान्छेलेपनि रोजगारी पाउँछन्।’