वीरगन्ज,१२बैशाखःसरकारी र निजी अस्पतालका डाक्टरहरु हड्तालमा उत्रिएपछि उपचारका लागि अस्पतालमा पुगेका बिरामीहरुको बिजोग भएको छ ।
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी प्रतिष्ठान सरह नै निर्वाह भत्ता उपलव्ध गराउनुपर्ने माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा डाक्टरहरु शुक्रबारदेखि अस्पताल र क्लिनिकसमेत बन्द गरेर अनिश्चितकालिन हड्तालमा उत्रिएका हुन् ।
शुक्रबार बिहान ११.३० बजेतिर वीरगन्जको एकमात्र सरकारी अस्पताल नारायणी अस्पतालमा पुग्दा बिरामीहरु डाक्टर खोज्दै भौतारिदैं थिए । कतिपयले डाक्टरहरु नभेटिएकोमा पिडासहितको आक्रोश पोख्दै थिए ।
नातीलाई पखाला लागेपछि उपचारका लागि नारायणी अस्पतालमा पुगेका वीरगन्ज–२६ अठराहका नेमिलाल साहले डाक्टर नै नभेटिएपछि पिडा पोख्दै भने ,‘ निजी क्लीनिकपनि बन्द छन् । अब कहाँ लाने ? मेरो दिमागले काम नै गरिराखेको छैन ।’ उपचार सेवा नै बहिष्कार गरेर डाक्टरहरु हड्तालमा उत्रिनु जायज नभएको उनले बताए ।
डाक्टर नभेटिएपछि निराश हुदैं फर्कन लागेको अवस्थामा अस्पताल परिसरमै भेटिएका पर्साको पोखरिया नगरपालिका–६ का सुमित कुमार गुप्ताको पिडापनि उस्तै थियो ।डाक्टर नभेटिएपछि रुन्चे अनुहार लगाउँदै उनले भने,‘श्रीमतिलाई हिजो(बिहीबार) लिएर आएका थिए । डाक्टरले रगत,पिसाब र एक्सरेको जाँच लेखिदिएपछि हिजै सबै जाँच गराए ।आज रिपोर्ट लिएर आए ,तर कोहि डाक्टर नै भेटिदैनन् ।अब म कहाँ जाने ? कसलाई देखाउने यो रिपोर्ट ?’
अकस्मात खुट्टाको भागमा प्यारालाइसिस्को समस्या देखिएपछि शुक्रबार नारायणी अस्पतालमा पुगेका पर्साको सन्ठी गाँउका दलित युवा वीरेन्द्र राम भने बहिरङ्ग सेवा भवन अगाडि डाक्टरलाई कुरेर बसेको अवस्थामा भेटिए ।उनले भने,‘ अस्पतालमा आउँदा डाक्टरहरु हड्तालमा छन् भन्ने थाहा भयो । तैपनि कोहि डाक्टर भेटिहाल्छन् कि भनेर कुरेर बसेको छु ।’आँफु गरिब भएकाले निजी अस्पताल वा क्लिनिकमा जान असमर्थ रहेको दुखेसोपनि रामले सुनाए ।
वीरगन्जको नारायणी अस्पतालमा उपचार राम्रो हुन्छ भनेर सुनेका भारतको बिहार राज्यको घोडासहनका प्रमोद चौधरीले पेटको रोगको उपचारका लागि आँफु बिहारबाट आएको बताए । तर डाक्टर नभेटिएपछि आक्रोश पोख्दै उनले भने,‘ हड्ताल गर्ने नै हो मिडिया र सोसल मिडियाबाट पहिल्यै जानकारी गराएर मात्रै डाक्टरहरुले आफ्नो आन्दोलन सुरु गर्नु पथ्र्यो । अचानक कुनै जानकारी नदिई डाक्टरहरु यसरी हड्तालमा उत्रिदाँ हामीजस्ता टाढाका मान्छेले धेरै दुःख पायौं । डाक्टरहरुको यो पारा ठिक भएन ।’
टर्सरी अस्पताल सरहको नारायणी अस्पतालमा पर्सा,बारा सहितका ४ जिल्ला र छिमेकी भारतको बिहारबाट गरी दैनिक औसतमा ९०० देखि १ हजार बिरामीले बहरिङ्ग (ओपिडि) सेवा मात्रै लिदैं आएका छन् । तर शुक्रबारदेखि डाक्टरहरु हड्तालमा उत्रिएपछि उपचारका लागि अस्पतालमा पुगेका सयौं बिरामीहरु डाक्टर नै नभेटिएपछि अलपत्र अवस्थामा भेटिए ।
नारायणी अस्पतालका सूचना अधिकारी तथा बरिष्ठ चिकित्सक डाक्टर उदयनारायण सिंहले भने अरु सबै सेवा ठप्प गरिएपनि आकस्मिक सेवा भने सुचारु नै राखिएको बताए । उनले भने,‘ ओपिडि लगायतका सेवा बन्द गरिएपनि इमर्जेन्सी सेवा दिइरहेका छौं । साह्रै समस्यामा परेका बिरामीहरुलाई हामीले इमर्जेन्सी वार्डमा बोलाएर उपचार गरिरहेका छौं ।’
चिकित्सकहरु रहरले नभई बाध्यताले आन्दोलनमा उत्रिनु परेको सिंहले बताए । उनले भने,‘ बिरामीलाई उपचारबाट बञ्चित गराएर दुःख दिनु हाम्रो नियत हुदै होइन । डाक्टर नभेटिएर बिरामीहरु फर्केको देख्दा हामीलाईपनि पिडा महसुस भइरहेको छ । तर के गर्नु ? यो देशको प्रधानमन्त्री,मन्त्रीहरु नै अनुदार भएपछि डाक्टरहरु आफ्नो हकअधिकारका लागि हड्तालमा उत्रिन बाध्य भएका हुन् ।’
सरकारले सुनिश्चित गरेको निर्वाह भत्ता कार्यावन्यन नभएको भन्दै तीन हप्तादेखि आवासीय चिकित्सकहरु सडक आन्दोलनमा छन् । २५ माघमा चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा अध्ययरत आवासीय चिकित्सकलाई ४८ हजार रुपैयाँ (सरकारी आठौं तहसरह) सेवासुविधा दिनुपर्ने निर्णय गरेको थियो । तर निजी मेडिकल कलेजका सञ्चालकहरुले साढे दुई महिना बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन गरेका छैनन् ।
अहिले निर्वाह भत्ता बापत आवासीय चिकित्सकले मासिक १९ हजार ८०० रुपैयाँ मात्रै पाइरहेका छन् । यसलाई बढाएर मासिक ४८ हजार रुपैयाँ पाउनुपर्ने माग उनिहरुको छ । सरकारी अस्पतालमा काम गर्ने आवासीय चिकित्सकले भने मासिक ४८ हजार रुपैयाँ नै पाउँछन् ।

