
प्रमोद यादव
पर्सा,१०बैशाखः देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा रहेका कारण पर्सा जिल्लाका सामुदायिक विद्यालयहरूमा विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ । शिक्षा मन्त्रालयले नयाँ शैक्षिकसत्रका लागि वैशाख २ देखि ७ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने कार्यसूची बनाएको थियो । तर आज(बुधबार) वैशाख १० गते भइसक्दा पनि पर्सा जिल्लामा पनि विद्यार्थी अभियान सञ्चालनमा आउन सकेको छैन ।
पर्सा जिल्ला मात्र होइन देशभरका सामुदायिक विद्यालयहरूमा विद्यार्थी भर्ना अभियान सञ्चालनमा आएको छैन । शिक्षकहरूको आन्दोलनले भर्ना अभियान प्रभावित भएको भन्दै बैशाख ७ गते वीरगन्ज महानगरमा पर्सा जिल्लाका पालिका प्रमुख, उपप्रमुख र शिक्षा शाखा प्रमुखहरूको बैठकले वैशाख ८ देखि १५ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यसअनुरूप बैठकमा सहभागी पालिकाहरूको शिक्षा शाखा प्रमुखहरुले विद्यालयहरूलाई भर्ना अभियान सञ्चालनका लागि पत्राचारसम्म गरेका थिए थियो तर आज बैशाख १० गते भइसक्दापनि कुनैपनि पालिकामा भर्ना अभियान भने सञ्चालन हुन सकेको छैन ।
पर्सागढी नगरपालिकाले वैशाख ७ गते निर्णय गरी नगरभित्रका सबै विद्यालयलाई वैशाख ८ देखि १५ गतेसम्म अनिवार्यरूपमा विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न निर्देशन दिएको थियो । तर नगर शिक्षा शाखाले पठाएको निर्देशनलाई अटेर गर्दै अधिकांश सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले भर्ना अभियान शुरू गर्न अस्वीकार गरे । नेपाल शिक्षक महासंघ पर्साले आन्दोलनबाट सरकारले माग सम्बोधन नगरुन्जेल जिल्लामा सबैखाले शैक्षिक गतिविधि ठप्प पार्न निर्देशन जारी गरेको छ ।
पर्सागढी नगरपालिकाका शिक्षा शाखा प्रमुख कपिल लामिछानेले पालिकाका सबै सामुदायिक विद्यालयलाई तोकिएको मितिमा विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न भनिएको र कार्यान्वयन नगर्ने विद्यालय र विद्यालय व्यवस्थापन समितिमाथि आवश्यक कारबाहीसमेत हुने चेतावनी दिएका थिए । तर उनको निर्देशन र चेतावनीको कुनैपनि विद्यालयले वास्ता नै गरेका छैनन् ।
वीरगन्ज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेले महानगरमा रहेका शिक्षकहरूले आन्तरिक तयारी गरिरहेको तर बाहिरी आवरणमा भने विद्यालय भर्ना अभियान सञ्चालन नभएको बताए । उनले महानगरमा रहेका शिक्षकहरूलाई आन्दोलन सकिएसँगै तयारीमा जुट्दा समस्या हुने भनेर आन्तरिक तयारीका लागि आग्रह गरिएको बताए । शिक्षा शाखाले सबै सामुदायिक विद्यालयलाई भर्ना अभियान सञ्चालनको लागि पत्राचार गरेको तर बाहिरीरूपमा कसैले पनि नसघाएको उनले बताए ।
बैशाख ७ को वीरगन्ज महानगरपालिकामा भएको बैठकमा सहभागी भएका पालिकाका प्रमुख,उप्रमुख र शिक्षा शाखा प्रमुखहरूले आ–आफ्नो पालिकाका सामुदायिक विद्यालयहरूलाई बैशाख ८ गतेदेखि अनिवार्यरूपमा विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न निर्देशन जारी गरेका थिए ।तर जिल्लाभरिका १४ वटै पालिकामा रहेका ३५२ वटा विद्यालयले विद्यार्थी भर्ना अभियान सञ्चालन गरेका छैनन् ।
पर्सा जिल्लाका १४ पालिकामा ३५२ वटा सामुदायिक विद्यालय छन् भने ती विद्यालयमा १ लाख २७ हजार ३३५ जना विद्यार्थी अध्ययनरत रहेको गत वर्षको तथ्याड्ढमा उल्लेख थियो । प्रत्येक वर्ष पर्सा जिल्लामा करीब ३५ हजारको हाराहारीमा विद्यार्थीहरू भर्ना हुने गरेका छन् ।

